युद्ध असाध्यै कपटी हुँदोरहेछ

मोहन मैनाली/लेखक

 

मोहन मैनाली लामो समयदेखि पत्रकारितामा सक्रिय छन् । हालसालै उनको नियात्रा मान्ठा डराएको जुग प्रकाशित छ । यस अघि उनको किताब उपल्लो थलो प्रकाशित थियो । मान्ठा डराएको जुगमा नेपालको दशवर्षे जनयुद्ध, खण्डित परिवारको अवस्था, युद्धका क्रुर परिणामबारे वर्णन छ । शुक्रबारका लागि उनीसँग दीपक सापकोटाले गरेको कुराकानी ।

 

तपाईंको पहिलो नियात्रा किताब उपल्लो थलोर दोस्रो मान्ठा डराएको जुग बीच खास फरक के हुन्?

‘उपल्लो थलो’ मा मैले नेपालका त्यस्ता विकट ठाउँको वर्णन गरेको छु जहाँ थोरै मात्र नेपाली पुगेका छन्। त्यस्ता मनमोहक ठाउँका बारेमा बताएको छु जसलाई नास्तिकले पनि स्वर्ग मान्छन्। त्यस स्वर्गमा बस्ने त्यस्ता निश्छल मानिससँग पाठकको जम्काभेट गराउने कोसिल गरेको छु जसलाई भगवानमा विश्वास नगर्नेले पनि भगवान मान्छन्। त्यस स्वर्गमा बस्ने ती सरल मानिसले बाँच्नका लागि उठाउनु परेका त्यस्ता दुःख कष्टको वर्णन गरेको छु जुन पत्याउन गाह्रो पर्छ। ती मानिसलाई मद्दत गर्न भनेर सरकारले गरेका त्यस्ता कामका बारेमा बताएको छु जसबाट केही उपलब्धि हुँदैन।

‘उपल्लो थलो’ खासमा असली नेपाल परिचय भाग १ हो (पहिले कलेजमा पढाइने नेपाल परिचयमा नेपालका बारेमा खासै परिचय दिइँदैनथ्यो) जसमा लेखिएका कुरा हरेक नेपालीले पढ्नुपर्छ, तिनका बारेमा मनन गर्नुपर्छ र त्यहाँ लेखिएका अब्यवस्था अन्त्य गर्न सबैले प्रयास गर्नुपर्छ।

‘मान्ठा डराएको जुग’ मा चाहिँ नेपालको दश वर्षे लडाइँमा मारिएका ती मानिसका कुरा छन् जो आफ्ना परिवार बचाउन चाहिने गास, बास र कपास जुटाउन रातोदिन कठोर मेहनत गर्थे। लडाइँले पिल्स्याएका त्यस्ता जीवित मानिसका कुरा पनि छन् जो आफन्त वियोगको पीडाले जिउँदै, पटकपटक मारिएका छन्। अर्को किसिमले भन्दा यो असली नेपाल परिचय भाग २ हो। अर्थात् ‘उपल्लो थलो’ मा ‘मान्ठा डराएको जुग’ मा वर्णन गरिएको लडाइँको कारणका बारेमा लेखिएको छ भने ‘मान्ठा डराएको जुग’ मा  ‘उपल्लो थलो’ मा वर्णन गरिएका अव्यस्थाको क्रुरतम परिणामको चर्चा गरिएको छ। त्यसैले, यी दुई पुस्तक हामी बाँचेको समयको नेपालका बारेमा बुझाउने एउटै पुस्तकका दुईवटा खण्ड हुन्।

 

मान्ठा डराएको जुगका हरेक टेक्स्टले पाठकलाई भावुक बनाउँछ। द्वन्द्वको समयमा डराएका मान्छेको आँखाको रंग कस्ता थिए र तिनिहरूका संकेत के थिए?   

हो, ‘मान्ठा डराएको जुग’ ले पाठकलाई भावुक बनाउँछ। त्यसमा वर्णन गर्नुपर्ने घटना र अवस्था त्यस्ता थिए। मैले जतिसुकै नरम पारेर लेख्दा पनि तिनले पाठकका आँखा राता बनाउँछन्। पाठकका आँखा लडाइँका बेलामा मैले भेटेका, आलो घाउ भएका मानिसका आँखासँग मिल्दाजुल्दा हुनपुग्छन्। यो अप्रत्याशित घटना बुझन नसक्दा हुने स्वभाविक प्रकृया हो। घाउ अलि पुरानो (धेरै पुरानो भने होइन) भएका मानिसका आँखा चाहिँ घुर्मैला देखेँ मैले। बादल लागेका, ओइलाएका, कान्ति गुमेका। यो चाहिँ नबजि्रनु पर्ने बज्र आफूमाथि किन र कसरी बज्रियो भनी अलमलिएको लक्षण थियो। घाउ अलि पुरानो भएपछि, मानिस अलि सोच्न सक्नेपछि उनीहरुका आँखा रिसले राता भएको देखेँ। परिस्थिति अनुसार, कसैमा अन्यायप्रतिको आक्रोस बढी थियो कसैमा बदलाको भावनाको मात्रा। आँखा मनको ऐना न हो। मन जुन रङको थियो आँखाले त्यही रङ टिपेको थियो।

 

२०५८ साल मंसिरमा माओवादीले युद्धविराम भंग गरेर देशका हरेक भागमा आक्रमणमा उत्रियो। सरकारले पनि देशमा संकटकाल घोषणा गरेर माओवादीविरुद्ध सेना परिचालन गर्‍यो। मान्छे मार्ने क्रम व्यापक चलेको बेला तपाईं सुरक्षित सेल्टर काठमान्डौं छोडेर खाँदबारि, जोगिमारा, बाजुरा, कर्णालीतिरका मान्छेको कथा खोज्दै हिँड्नुहुन्छ। त्यस्तो द्वन्द्वमा मान्छे खास यात्रामा हिँड्दैनन। तपाईं हिँड्नुको खास कारण के थियो? कि एनजिओको पैसामा हिँड्नुभएको थियो?

आम हडताल र बन्द भएका अनि कर्फ्यू लागेका बेलामा सिकिस्त विरामीलाई अस्तपाल लान्छु भन्दा पाइँदैन। दिनभर काम नगर्दा खान नपाउने मानिसले काम गर्न पाउँदैनन्। तर हामी पत्रकार बन्दका दिन आफ्ना मोटरसाइकल वा गाडीमा “प्रेस” लेखिएको कागज टाँसेर हिँड्न पाउँछौँ। कर्फ्यू लागेका बेलामा हिँड्ने पास पाउँछौँ। यो विशेषाधिकारसँग दायित्व पनि जोडिएर आउँछ। पत्रकारले बिपतमा परेका, दुःख पाएका, बिकट ठाउँका मानिसको अवस्था बुझ्छन् र त्यसका बारेमा मानिसलाई बताउँछन् अर्थात यी समाजका आँखा हुन् भनेर त्यसको गुन तिर्न त हो हामीलाई यो विशेषाधिकार दिएको।

संकटकाल लागेपछि तीनवटा कारणले गर्दा काठमाडौंमा बस्ने पत्रकारलाई काम थपिएको थियोः पहिलो, संकटकाल लागेपछि मानिसमाथि पहिलेभन्दा अझ बढी अत्याचार भएको थियो। दोस्रो, माओवादीले विभिन्न ठाउँका टेलिफोन सेवा भत्काएकाले जिल्लामा बस्ने संवाददातालाई समाचार पठाउन समस्या भएको थियो। तेस्रो, केही गरी अत्याचारसम्बन्धी समाचार पठाएर छापिएका खण्डमा स्थानीय संवाददाताको ज्यान खतरामा पर्न सक्थ्यो। अत्याचार गर्ने मानिसले संवाददातालाई जे पनि गर्न सक्थे (काठमाडौं बस्ने पत्रकारले जिल्लामा गएर रिपोर्टिङ गरेको रहेछ भने जिल्लामा भएका अत्याचारीले काठमाडौंमा बस्ने पत्रकारलाई भेट्न र दुःख दिन अलि गाह्रो हुन्थ्यो)।

त्यस्ता बेलामा सुरक्षित सेल्टर काठमाडौं छाडेर कतै नहिँडेको भए म भगौडा पत्रकारमा दरिन्थें। त्यसमाथि, म लडाइँ नभएका बेलामा पनि विकट ठाउँका सामान्य मानिसका समस्या उठाउन अभ्यस्त थिएँ।

तपाईँले भनेजस्तो एनजिओको पैसामा हिँडेको पनि केही हदसम्म सत्य हो। जोगीमारा त नजिक थियो। त्यहाँको रिपोर्टिङ गर्न धेरै खर्च लाग्दैनथ्यो। मेरा साथी ध्रुव बस्नेतले जोगीमाराको रिपोर्टिङ गर्न सित्तैमा क्यामरा दिएका थिए, खिच्ने काम पनि सित्तैमा गरिदिएका थिए। तर बाजुरा अथवा कर्णाली जाँदा २५/२६ दिनसम्म कसैको क्यामरा, पावर जेनरेटर आदि उपकरण सित्तैमा माग्न सकिँदैनथ्यो। मजस्तै काम नगरे भात खान नपाइने अवस्थाका साथीलाई त्यत्रो दिन सित्तैमा काम गरिदेऊ भन्न पनि सकिँदैनथ्यो। पसलेले टेप सित्तैमा दिने कुरो भएन। यसरी लगेका क्यामरा फर्केर नआउन पनि सक्थे। त्यस्ता बेलामा क्यामरा धनीका सामुन्ने दाँत ङिच्च पारेर ‘क्यामरा त माओवादीले लगे, उनीहरुसँगै माग्’ भन्न मिल्दैनथ्यो। मूलधारका सञ्चार माध्यम रिपोर्टिङमा हुने यस्ता खर्च जुटाउने गरी सम्पन्न भएका थिएनन्। यस्ता बेलामा खोज पत्रकारिता केन्द्र, नेपाल वातावरण पत्रकार समूह जस्ता गैरनाफामूखी सञ्चार संस्था (एनजिओ) को पैसाले सहयोग गर्‍यो। पैसाका कारणले रोकिएको बाटो खुल्यो। गाउँ जान झकझक्याउने मुख्य कुरा त पेशागत दायित्व नै थियो।

 

तपाईंलाई संकटकालको बेला मरिएला भन्ने डर लागेन? तपाईंले त्यसबेलाको यात्रामा भोग्नुभएका दुःख कस्ता थिए?

हामीले केही ठाउँको रिपोर्टिङ गरेका बेलामा देश संकटग्रस्त भएको घोषणा गरिएको थियो। केही ठाउँको रिपोर्टिङ गरेका बेला घोषणा नगरे पनि देश संकटमै थियो। शान्ति वार्ताका बेलामा पनि हामीले रिपोर्टिङ गरेका केही ठाउँ संकटग्रस्त थिए। त्यसैले हामीले ज्यानको बाजी राखेर काम गरेका थियौँ भन्दा मेरो किताब पढ्ने धेरैले पत्याउलान तर त्यो सत्य होइन। हामी हाम्रो पेशालाई आफ्नो ज्यानभन्दा ठूलो ठान्दैनथ्यौँ। हामी ज्यान माया मारेर हतियार बोक्ने पेशा वा लहडमा लागेका थिएनौँ। मैले पढेका पत्रकारिताका पुस्तक र मैले लिएका तालिमले मलाई यस्तो सिकाएका थिएः ज्यान जोगियो भने मात्र पत्रकारिता गर्न सकिन्छ, त्यसैले कामलाई भन्दा ज्यानलाई महत्व देऊ। मैले यस सल्लाहलाई ख्यालख्यालमा लिएको थिइनँ। पत्रकारले ज्यान फालेर भए पनि रिपोर्टिङ गर्नुपर्छ भन्ने साथीहरुलाई म भन्थें (अहिले पनि भन्छु)­: आत्महत्या गर्न मन लागेको छ भने अरु उपाय अपनाऊ तर पत्रकारिता पेशालाई आत्महत्या गर्ने माध्यम नबनाऊ। त्यसैले हामी त्यस्ता ठाउँमा मात्रै रिपोर्टिङ गर्न गयौँ जहाँ हाम्रो बुद्धिले भ्याएसम्मको विश्लेषण गर्दा ज्यान जोखिममा पर्दैन भन्ने देखिन्थ्यो। ज्यानको शतप्रतिशत सुरक्षा त कहिल्यै पनि हुँदैन।

यसको मतलब हामी रिपोर्टिङका लागि जहाँ गयौँ त्यहाँ सबैजना हामीलाई स्वागत गर्न अबिर र माला लिएर बसेका थिए भन्ने होइन। रिपोर्टिङ गर्न गएका अधिकांश ठाउँमा हामीलाई दुःख दिने मान्छे बलिया र हामीप्रति सद्भाव राख्ने मान्छे निरिह थिए। त्यसैले, सानातिना समस्या आइलाग्छन् भनेर हामी तयारै थियौं। अलिअलि शूरो हुन भने खोजेका थियौँ।

सामान्य अवस्थामा त भने जस्तो हुँदैन भने लडाइँका बेलामा हुने कुरै भएन। भनेका बेलामा, भनेका ठाउँमा जान पाइँदैनथ्यो। अनेक थरीका केरकार सुन्नुपर्थ्यो । दुर्ब्यबहार सहनुपर्थ्यो। दुःख पाएका कति मानिस नचिनेका मान्छे (हामी पत्रकार) सँग बोल्न डराउँथे। शोक सहन मात्र होइन शोकाकुल मानिस भेट्न, उनीहरुका कुरा सुन्न पनि कठिन हुँदो रहेछ। उनीहरुसँग कुरा गर्दा उनीहरुको शोक कुराकानी गर्ने मानिसमा पनि सर्दो रहेछ। यसरी भेला गरेका जानकारीका आधारमा रिपोर्टिङ गर्दा अर्काे पटक रुनु पर्ने रहेछ। यसको असर पछिसम्म (शायद जीवनभर) रहिरहँदो रहेछ।

 

मान्छेका हदैसम्मका दुःख लेख्नुभएको छ। छोरो मरेको खबर छ, लाश छैन। कुशको लास बनाएर दाहसंस्कार गरेकोदेखि काखमा नानी बोकेकी १६ वर्षकी युवतिको श्रीमान मारिएकोसम्म वर्णन छ। त्यस्तो दुःखको बेला तपाईंहरुले तिनीहरुको कथा क्यामेरामा कैद गर्नुभो। तिनीहरुको कथा बेचेर, लेखेर तपाईं चर्चित त हुनुभो। तर, तिनीहरुको जीवनमा के परिवर्तन भयो त?

जोगीमाराका मानिसका बारेमा रिपोर्टिङ गरेको एक महिना जति पछि काठमाडौँमा शान्ति पत्रकारिता सम्बन्धी तालिम भएको थियो। त्यस तालिमका प्रशिक्षकमध्येका एक आनाबेल म्याकरोड्रिक साइकोथेरापिस्ट पनि थिइन्। उनलाई मैले अर्काको दुःख कोट्याउने (अर्थात् उनीहरुलाई दुःख दिने) के पेशा लिइएछ भनेर मेरो विरक्ति प्रकट गरेको थिएँ। उनले मलाई यसरी ढाढस दिएकी थिइन्ः तैँले एकदमै राम्रो काम गरेको छ। शोकमा परेका मानिसलाई मद्दत गर्न सबैभन्दा पहिले उनीहरुका कुरा राम्रोसँग सुन्नुपर्छ जुन काम तैँले गरेको छस्। यसरी उनीहरुका कुरा सुन्दा उनीहरुको मनको बह पोखिन्छ, उनीहरुलाई दुःख परेका बेलामा आफ्ना कुरा सुन्ने मानिस रहेछन् भनेर ढाढस मिल्छ।

यो कुरा मैले त्यसको दुई महिना पछि बाजुरा जाँदा राम्रोसँग महसुस गरेँ जहाँ ८२ वर्षका सूर्यप्रसाद गिरीले हामीलाई ‘भगवान’ भने। उनले हामीलाई यसो भन्नुको एउटै कारण थियो हामीले मानिसका दुःखसुखका कुरा ध्यान दिएर सुन्यौँ। त्यसको भोलिपल्ट हामीलाई गाउँलेहरुले अघिल्लो दिन मारिएका लाश हेरिदिन अनुरोध गरे। धेरै मानिस एकै ठाउँमा मारिएकाले रोइकराइ गरिरहेका मानिसलाई सम्झाइरहेकी वृद्ध हुँडी रावतले हामी पुगेपछि भनिन्– पत्रकार आइपुगे, तिमीहरुको कुरा छापिन्छ, नरोऊ।

पत्रकार यस्ता काममा उपयोगी हुँदा रहेछौँ भन्ने कुरा मैले पहिलो पटक थाहा पाएँ। यो किताब छापिएपछि बाजुराका भीमबहादुर शाहीसँग भेट भयो। मैले उनलाई उनका दाइ पदमबहादुर शाही मारिएका बेला पहिलो पटक भेटेको थिएँ। उनले उनीहरुका कुरा पहिले पत्रिकामा र अहिले पुस्तकमा लेखिदिएकोमा धन्यवाद दिए। पहिले कहिल्यै भेट नभएको कहाँको मान्छेले हामी कहाँका मान्छेका दुःखका बारेमा लेखिदियो, आपत परेका बेलामा हामीलाई ढाढस दियो भनेर गुन माने। यसले गर्दा मलाई लाग्यो पत्रकारले लेखेपछि जसका बारेमा लेखिएको हो तिनलाई सहयोग नै पुग्दो रहेछ।

मैले स्टोरी लेखेपछि जोगीमाराका मानिसहरुले केही सहयोग पाए। काठमाडौंका कलाकार, फोटोग्राफर, लेखकदेखि लिएर बेलायत बस्ने भूतपूर्व गोर्खा सिपाही अनि अमेरिकामा बस्ने नेपाली समेतले सहयोग गरे। तर यस्तो सहयोग उनीहरुलाई पुगेको जस मैले लिनु हुँदैन किनभने यो काम ठूला दिल भएका तिनै मानिसले गरेका हुन्। मैले गरेको होइन।

जोगीमाराको स्टोरीको धेरै चर्चा भयो। स्टोरी लेखेका नाताले मेरो पनि चर्चा भयो। तर त्यो स्टोरी मैले चर्चित हुनका लागि लेखेको थिइनँ। त्यसैले चर्चित हुनमा मेरो कत्ति पनि दोष छैन। सामान्य काम गर्दा पनि चर्चित हुनुपर्ने परिस्थितिलाई दोष दिनुपर्छ।

 

कालीकोटमा सेनाले माओवादी भनेर मारेका १७ जना जोगिमारा, धादिङका मजदुरहरूमाथि डकुमेन्ट्री पनि बनाउनुभयोजोगिमाराका ज्युँदाहरू। त्यो कथा यस किताबमा पनि छ। पछि फेरी पनि तिनीहरूको फलोअपमा जोगिमारा जानुभएको छ? त्यो डकुमेन्ट्री र यो किताब जोगिमाराकै मानिसले हेर्न, पढ्न पाउलान?

पहिलो चोटि जोगीमारा गएको आठ महिनामा म थप दुई चोटि जोगीमारा गएँ। मैले लेखेको स्टोरी पढेर अमेरिकामा बस्ने नेपालीहरुले पठाएको पाँच/पाँच सय डलर बराबरको सहयोग उनीहरुलाई पुर्‍याउन। यस बीचमा उनीहरुले आफ्ना बारेमा बनेको डकुमेन्ट्री पनि हेरे। जोगीमाराका मानिस गाडिएको कोटवाडाका दृश्य पनि उनीहरुलाई देखाइदिएँ। पाँच वर्ष पछि फेरि जोगीमारा गएँ। पहिले भेटेका मानिसलाई भेटेर अर्काे डकुमेन्ट्री बनाएँ। यो डकुमेन्ट्री पनि उनीहरुले हेरे। यो किताब पनि उनीहरुका हात पार्ने व्यवस्था हुँदैछ। तर किताब पढ्न भने सबैले नपाउलान किनभने किताबमा वर्णन गरिएका धेरै जनाले अक्षर चिनेका छैनन्।

 

द्वन्द्व र त्यसले निम्त्याएको भयानक परिणामलाई नजिकबाट देखिसकेपछि तपाईंको परिभाषामा माओवादी द्वन्द्वके हो?

माओवादी सत्तामा नपुगञ्जेल माओवादीले थालेको लडाइँलाई म राम्रो उद्देश्यका लागि गरिएको नराम्रो काम भन्थेँ। सत्तामा पुगेपछि उसले गरेका काम देख्दा लाग्यो त्यो लडाइँ परिवर्तनका लागि भनेर गरिएका अरु आन्दोलन जस्तै लाशमा टेकेर सत्तामा चढ्ने चोरबाटो रहेछ।

 

मान्छेको दुःख निर्माणमा कसकसका प्रभाव छन्?

ठोकुवा गरेरै त भन्न सक्दिनँ तर मलाई के लाग्छ भने आम मानिसका चासोलाई ध्यान नदिने प्रजातान्त्रिक व्यवस्था, त्यस व्यवस्थाका कमजोरीलाई उछालेर, सोझा मान्छेलाई आकाशपाताल जोड्ने सपना देखाएर मर्न र मार्न उक्साउने राजनीति अनि यी दुबैथरीका गलत कामलाई देखेको नदेख्यै गर्ने बौद्धिक वर्ग सबै मिलेर मान्छेमाथि दुःख थोपर्छौँ।

 

मान्ठा डराएको जुगमा मान्छे द्वन्द्वकै कारणले डराएको कथा छ। द्वन्द्वका दुर्बल पक्ष त यथेष्ट हुन्छन्। द्वन्द्वका सबल पक्ष पनि केही हुँदारहेछन ?

गलत बाटो हिँडेर सही ठाउँमा पुगिँदैन भन्ने कुरा अहिले आएर नेपालका सन्दर्भमा साबित हुँदै गएको छ। माओवादी र तिनका समर्थक भन्छन्– ‘लडाइँले गर्दा नेपालमा गणतन्त्र आयो। यसले खान नदेला तर यो ठूलो उपलब्धि हो।’ अरुबेला जीविकालाई सबैभन्दा महत्वपूर्ण कुरा ठान्ने कम्युनिष्टले यसो भन्न मिल्दैन।

कतै पढेको हो कि सुनेको थिएँ लडाइँका राम्रा कुरा तुरुन्तै बिलाउँछन् तर नराम्रा असर जुग जुगसम्म रहिरहन्छन्। मलाई हो कि जस्तो लागेको छ। लडाइँका बेलामा माओवादीले राज गरेका ठाउँमा जातीय भेदभाव हटेको छ भनिन्थ्यो। अहिले त्यसको नामोनिसान भेटिँदैन। माओवादीमा महिला सहभागिता अत्यधिक छ भनिन्थ्यो। अहिले आएर थाहा भयो बन्दूक बोकर मर्न जाने काममा रहेछ नेतृत्वमा रहेनछ।

 

संकटकालको बेला गाउँतिरको यात्रा गर्नुअघि युद्धलाई हेर्ने धारणा कस्तो थियो? कति फेरियो?

युद्ध कपटी हुन्छ भन्ने कुरा इतिहास पढेर थाहा पाएको थिएँ तर यति धेरै कपटी होला जस्तो लागेको थिएन। गाउँतिर घुमेपछि थाहा भयो। लडाइँका बेलामा गाउँका मानिसलाई भारतका विरुद्ध उचालेर नेतृत्व आफू चाहिँ भारतमा शरण लिँदो रहेछ भन्ने कुरा गाउँ घुमेपछि थाहा पाएँ।

 

मान्छे मरेको र चरम दुःखका कथा सुन्दा, देख्दा दिक्कै हुनुभएछ। उसबेला मान्छे मार्नेहरूप्रति कत्तिको रिस उठेको थियो?

उस बेला बाटो मात्र गलत हो नियत गलत होइन भन्ने लागेको थियो। अलिअलि माया लाग्थ्यो। अहिले मान्छे मार्नेसँग भन्दा बढी मार्न लगाउनेसँग रिस उठेको छ त्यत्रा मान्छे मारेर सत्तामा पुगेपछि आफूले त्यही काम गरे जुन कामका विरुद्ध सोझा मानिस उठाएका थिए भन्ने लागेर। के के न हुन्छ भनेर आफ्नो ज्यान माया मारेर अरुको ज्यान तयार भएकासँग त्यतिबेला रिस उठेको थियो। अहिले उनीहरुलाई सम्झँदा दया लाग्छ।

 

टेक्स्ट पढ्दा बेलाबेला दृश्यले भावुकहुनुहुन्छ। भावुक भएर मान्छेहरूसँग अन्तर्वार्ता गर्नै सक्नुहुन्न। मान्छेलाई भावुक बनाउने खास कुरा दुःख मात्रै हुन् त ?

दुःख मात्रै होइन सुःखले पनि, अशान्तिले मात्र होइन शान्तिले पनि मानिसलाई भावुक बनाउँछ। मान्ठा डराएको जुग विमोचन भएको दिन म यति भावुक भइछु कि किताबमा सही गर्ने बेलामा मेरा नजिकका साथीहरुको नाम पनि भुलेँ र उनीहरुको नाम नलेखिकनै सही गरेँ।

 

माओवादी द्वन्द्वबारे त्यत्रो किताबै लेख्नुभो। तपाईंको मुल्यांकनमा द्वन्द्वको स्वभावगत कमजोरी के थियो?

रगतको मात जाँडरक्सीको मातभन्दा कडा हुँदो रहेछ। रगतको लत जाँडरक्सी र लागू पदार्थको लतभन्दा जब्बर हुँदोरहेछ।

 

जोगिमाराका मृत छोराको खबर सुनेर मात्रै बाबुआमा छोरो मर्‍योभन्ने विश्वासै गर्दैनन्। लास त पाउनुपर्थ्यो, नत्र कसरी मान्ने सग्लो गएको छोरो मर्‍यो भन्नेयस्तो भनाइ तपाईंले भेटेका थुप्रै पात्रहरूको छ। हाम्रो समाजमा मान्छे मार्नुभन्दा लास बेपत्ता पार्नुलाई ठुलो अपराध मानिँदोरहेछ। यसको मनोविज्ञान के रहेछ?

अनिश्चय मानिसलाई सबैभन्दा बढी दुःख दिने कुरा रहेछ। जोगीमाराका ज्ञानबहादुर विश्वकर्माले भनेका थिए, “सकेसम्म सास नसके लाश त पाउनुपर्थ्यो । लाश पाइएदेखि त मर्ने चोला मर्‍यो भनेर एक मनले ढुक्क हुन्थ्यो होला।” यसो नहुँदा मारिएका मानिसका जीवित आफन्त हरक्षणमा मारिँदा रहेछन्। त्यसैले बेपत्ता बनाउनुलाई हाम्रो समाजले ठूलो अपराध मानेको रहेछ।

 

द्वन्द्वका केही सीमा हुन्छन। केही नियम पनि होलान। तपाईंको किताब पढ्दा मानिसहरू कसैको लहड, सनक र रिस साँध्न बढि मारिएका देखिन्छन्। यसलाई तपाईं कसरी विश्लेषण गर्नुहुन्छ?

हो लडाइँमा पनि निश्चित काम गर्नु हुँदैन भनिएका छन्। ती काम गर्नुलाई मानवता विरुद्धको अपराध ठानिएको छ। तर हातमा बन्दूक बोकेका, ज्यानमा जबानी पाएका र दिमागमा मान्छे मार्नु राम्रो हो भन्ने कुरा हालिएका मानिसले यी नियम पनि पालना गरेनन् र मानवता विरुद्धको अपराध गरे।

 

मान्छेका भोगाइ, दुःखका यथार्थ बिस्तार नै तपाईंको किताब हो। फ्याक्टमा कतै पनि फिक्सन छैन होला भन्ने मेरो विश्वास छ। यो पत्रकारिता हो। पुरै पत्रकारिता गर्नु र साहित्यकारिता गर्नुमा कत्तिको फरक छ?

‘मान्ठा डराएको जुग’ मा कल्पित कथा रत्तिभर छैन। मैले धेरै तथ्य बटुल्ने मौका पाएको थिएँ। अलिकति कथा कल्पने खुबी पाएको भए आफूले बटुलेका तथ्यमा कथ्य मिसाएर म साहित्य लेख्दो हुँ। त्यो खुबी नभएकाले म फिचर लेख्छु जसमा सामग्रीमा कल्पना मिसिएको हुँदैन, प्रस्तुतिलाई अलिकति मन छुने बनाउने कोशिश भने गरिन्छ। यो पुस्तक ५८ वटा यस्तै फिचरको संग्रह हो। कहिलेकाहिँ फिचर र साहित्यका केही बिधा बीचको सिमाना धमिलिन्छ र निश्चित लेखोट साहित्य हो कि पत्रकारिता हो भन्ने द्विविधा उत्पन्न हुन्छ। यस किताबलाई म पूरै पत्रकारिता मान्छु। यो किताब के अर्थमा चाहिँ पत्रकारिताभन्दा फरक छ भने यो लेख्दा मलाई पत्रकारितामा जस्तो आजै, अहिल्यै सकिहाल्नुपर्छ भन्ने दबाब थिएन। लेखेको केही महिना पछि पढ्दा चित्त बुझेन भने फेरि लेख्न पाउँथे। सम्पादकहरुले पनि अलि फुर्सदले हेर्न पाएका थिए। शुद्ध पत्रकारितामा आफ्ना लागि छुट्याएको निश्चित ठाउँमा अटाउने गरी लेख्नुपर्छ अर्थात् घाँटी हेरी गाँस निल्नुपर्छ। किताब लेख्दा त्यसको चिन्ता रत्तिभर भएन अर्थात् गाँस हेरी घाँटी फुलाउन पाएँ।

 

जसरी कुनै गुलाबको फुललाई प्रेमिले प्रेमको प्रतीक सोच्छ, व्यापारिले त्यहि गुलाबलाई बेच्ने सामानको रूपमा हेर्छ। द्वन्द्वका बेला गाउँ घुम्दा कुनै मान्छे देख्दा, पुरानो घर देख्दा ती सबैलाई किताबमा कहाँनिर घुसाउनेभन्ने लाग्छ? वा घुमिरहँदा जताततै पात्रै पात्र पो देखिन्छ कि?

लडाइँ बाहेक अरु विषयमा रिपोर्टिङ गर्दा कहिलेकाहिँ मलाई यस्तो लाग्थ्यो। तर लडाइँका विषयमा रिपोर्टिङ गर्दा यस्तो कुरा मनमा आएन। मनमा कि करुणा आयो कि केही पनि आएन। बाजुरामा आफन्त मारिएका मानिसको फोटो खिच्दा मलाई कस्को, कस्तो फोटो खिच्दैछु भन्ने समेत ख्याल भएन।

लेख्न बसेका बेलामा चाहिँ तपाईँले भने जस्तो समस्या आइलाग्यो। कतिवटा घटना, कतिवटा प्रसङ्ग, कतिवटा भनाइ कहाँ राखौँ भनेर घोत्लिनु पर्‍यो। यति गर्दा पनि राख्ने ठाउँ नभेटेर तिनलाई फाल्नुपर्‍यो। जोगीमारामा कुशको लाश बनाएर दाहसंस्कार गरेको देख्दा भने मलाई स्टोरी यहीँबाट शुरु गर्छु भन्ने लाग्यो। पछि डकुमेन्ट्री र किताबको च्याप्टर पनि यही घटनाबाट शुरु गरेँ। मैले मान्छेलाई मान्छेकै रुपमा देखेँ। पछि लेख्ने बेलामा चाहिँ अति मन परेको वा अति मन नपरेको मान्छे पात्र बन्छन्।

यसको अलि छोटो रुप २०७२ साल वैशाख ४ गतेको शुक्रबार साप्ताहिकमा छापिएको थियो ।

Previous Older Entries