मान्ठा डराएको जुग

 

Mantha Darayeko nimto

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

पुस्तकः मान्ठा डराएको जुग

विधाः नियात्रा  

लेखकः मोहन मैनाली

प्रकाशनः २०७१ फागुन

प्रकाशकः फाइनप्रिन्ट

पेजः ३१८

मूल्यः ३५० रुपैया

 

लडाइँका कथा

‘जो स्वयं घटित हुन्छ र अनौठो पनि हुन्छ, त्यो यौटा कुरो जीवनभर बिर्सूं भनेर पनि बिर्सिन्न। त्यो बढाएचढाएर सिर्जूं भनेर सिर्जिन्न। त्यो जस्तो छ, त्यस्तै नै सपना जस्तै सुनाइन्छ र विपना जस्तै सत्य हुन्छ। अनि त्यसले स्रोताको मन तत्कालै छुन्छ। त्यो गफ पनि हैन, गल्प पनि हैन। त्यो त भोगूँ नभनेर भोगिएको अद्भुत सत्य हो। त्यसबाट साहित्यको एक छोटोमीठो विधा विकसित हुन्छ, त्यसैलाई हामी संस्मरण भन्छौं। संस्मरणका सामु साहित्यका अन्य विधाका कथ्य तथ्यहीन र काल्पनिक जस्तै लाग्छन्। इतिहासका निम्ति संस्मरण प्रमाणमात्र हुन्न, त्यसले इतिहासलाई नै प्राणवन्त बनाइदिन्छ। संस्मरण सानै हुन्छ, तर त्यसले जीवनमा ठूलो प्रभाव पार्छ।’

माधव घिमिरे, बिर्सूं बिर्सिसकिन्न, चारू चर्चा

यस पुस्तकमा जेजे घटना परेका छन् ती घिमिरेले भनेझैं स्वयं घटित हुन्। अर्थात् मैले कल्पना गरेका होइनन्। ती अनौठा छन्। मैले मात्र होइन सारा संसारले बिर्सूं भन्दा बिर्सन नसकिने छन्। घिमिरेले भनेझैं यी भोगूँ नभनेरै नेपालीले भोगेका त्यस जुगका अद्भुत सत्य हुन् जसलाई भुक्तभोगीमध्येका एक जना, बाजुरा पाण्डुसेनका जुल्फे सार्कीले मान्ठा (मान्छे) देखि मान्ठा डराउन्या जुग  भनेका थिए।

त्यस जुगमा म अनायासै संखुवासभादेखि डोटीसम्मका धेरै ठाउँ घुमेछु। माओवादी वा सरकार कुनैका मोर्चामा होइन, पत्रकारका मोर्चामा खटिँदा। यस क्रममा मैले धेरै निहत्था मानिसले पाएका दुःखसास्ती सुनें। केही दुःखसास्ती देखें, केही भोगें। अरूलाई मार्ने काममा लागेका मानिसले पाएका दुःखसास्ती पनि मैले सुनें। तर ती प्रसङ्गवश मेरा कानमा ठोकिन आएका थिए। मैले मेहनत गरेर खोजेका थिएनन्। मैले निहत्था मानिसले पाएका दुःखसास्तीबारे कुरा खोज्न र तिनका बारे सकेसम्म धेरै मानिसलाई बताउन रुचि लिएको थिएँ।

यस पुस्तकमा मान्छे डरलाग्दो हिंस्रक पशु बनेका वेला, मानिसको क्रूरतम पशुवत व्यवहार खपेका मानिसका व्यथा समेटिएका छन्।

आभारी छु

आफू दुःखमा परेका बेलामा पनि धेरै मानिसहरूले उनीहरूका कथा मलाई बताए। त्यसैका आधारमा यो पुस्तक तयार भयो। ती मानिसहरूप्रति आभारी छु।

यस पुस्तकमा भएका जानकारी भेला गर्न गाउँठाउँ चाहर्दा जोखिम मोल्नुपरेको थियो। धेरै साथीहरूले त्यस्तो जोखिम स्वीकार गरेर यात्रामा मलाई साथ दिएका थिए। यसरी साथ दिने साथीहरू हुन् :  गोविन्द पोखरेल, ध्रुव बस्नेत, काजी थापा, प्रकाश शाह, वासुदेव बाँस्कोटा, अशोक योगी, मोहन के.सी., नगेन्द्र उपाध्याय, दीपक थापा, छक्क मल्ल, नारायण प्रसाईं। उनीहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दछु।

जानकारी सङ्कलन गर्ने क्रममा विभिन्न ठाउँमा जान र त्यहाँबाट फर्कन धेरै थरीको बन्दोबस्त मिलाउन धेरै साथीहरूले मद्दत गरेका थिए। कति साथीहरूले जानकारी भेला गर्न र भेला भएका जानकारी रुजू गर्न पनि सघाए। ती साथीहरू हुन् :  भूपराज खड्का, उमिद बागचन्द, विष्णुलाल बुढा, वसन्त बुढाथोकी, खगेन्द्र खत्री, राजेन्द्र महत, तीर्थ रोकाया र तुलाराम पाण्डे। उनीहरूको गुण कहिल्यै पनि बिर्सन सक्दिनँ।

सङ्खुवासभा, धादिङ र दुई पटक बाजुरा जान–आउनका लागि खोज पत्रकारिता केन्द्रले सहयोग गरेको थियो भने कर्णाली जानका लागि नेपाल वतावरण पत्रकार समूह र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रले। तेस्रो पटक बाजुरा जानका लागि एलायन्स फर सोसल डायलग (एएसडी) ले आंशिक रूपमा सहयोग पुर्‍याएको थियो। यस्तो सहयोगका लागि यी सबै संस्थाप्रति आभारी छु।

यी ठाउँ घुमेर आएपछि मैले गरेका रिपोर्टिङ हिमाल खबरपत्रिका, नेपाली टाइम्स, कान्तिपुर लगायतका पत्रपत्रिकामा छापिएका थिए जसबाट प्राप्त प्रतिक्रियाले मलाई लडाइँबाट पेलिएका मानिसबारे थप रिपोर्टिङ गर्न प्रेरणा दिएका थिए। ती पत्रपत्रिकाका सम्पादकहरू कुन्द दीक्षित, कनक दीक्षित, राजेन्द्र दाहाल र नारायण वाग्लेप्रति म कृतज्ञ छु।

यस पुस्तकका विभिन्न खण्डका मस्यौदा पढी मलाई सुझाउ दिनुहुने गोविन्द पोखरेल, प्रकाश शाह र उमिद बागचन्दप्रति आभारी छु। पूरै पुस्तकको मस्यौदा पढेर सम्पादकीय सुझाव, सल्लाह दिएकोमा हस्त गुरुङप्रति सदा ऋणी रहनेछु।

त्यसैगरी पुस्तकको भाषालाई चुस्त बनाउन, नचाहिने कुरा र अभिव्यक्तिमा भएका विसङ्गति हटाउन अमूल्य भूमिका खेलेकोमा शरच्चन्द्र वस्तीप्रति हार्दिक आभार व्यक्त गर्दछु।

भाषा सम्पादनको जिम्मेवारी लिएको सन्तोष शर्माको गुण बिर्सिनसक्नु छ।

थरीथरीका कारणले गर्दा यो पुस्तक लेख्न धेरै ढिलो भयो। यसबीचमा दीपक थापा र अजित बरालले लेख्न नघच्घच्याएको भए यो पुस्तक बन्ने थिएन। उनीहरू दुवै जनाप्रति म आभारी छु।

पाण्डुलिपि तयार भएदेखि बजारमा पुर्‍याउनेसम्मका झन्झटलाग्दा काम गरिदिएकोमा प्रकाशन संस्था फाइनप्रिन्टप्रति हार्दिक आभारी छु।

अन्त्यमा, म ती पाठकप्रति आभारी छु जसले अनाहकमा दुःख पाएका मानिसका बारेमा मैले विभिन्न समयमा लेखेका फिचर र मैले बनाएका भिडियो तथा अडियो डकुमेन्ट्री हेरेर/सुनेर मलाई यो किताब लेख्ने उत्साह भरेका छन्। म ती मानिसहरूप्रति पनि अहिले नै कृतज्ञ छु जसले मेरो किताब पढ्नेछन् र मन लागेका खण्डमा यसमा भएका गुणदोषको निष्पक्ष चर्चा गर्नेछन्।

 

मोहन मैनाली

 

Previous Older Entries