लडाइँबारे मेरा केही सामग्री

नेपालमा चलेको दस वर्षे लडाइँका बारेमा मैले लेखेको किताब, मैले लेखेका केही फिचर/लेख, कार्यपत्र तथा मैले बनाएका केही भिडियो डकुमेन्ट्रीको सूची ।

पुस्तक

मान्ठा डराएको जुग

(२०७१ सालको पद्मश्री साहित्य सम्मान प्राप्त)

२०७१ साल, पृष्ठः ३१८

फाइनप्रिन्ट

नेपालमा १० वर्षसम्म चलेको लडाइँले लडाकूलाई मात्र होइन लडाइँमा नलागेका मानिसलाई पनि पिल्स्यायो । यस पुस्तकमा ती जीवित मानिसका कुरा पनि छन् जो आफन्त वियोगको पीडाले जिउँदै,पटकपटक मारिएका छन् । लडाइँमा कतै पनि नलागेका पत्रकारले देखेको त्यस कठोर युगको, त्यस निर्दयी लडाइँको चित्र हो मान्ठा डराएको जुग ।

 

डकुमेन्ट्री

जोगीमाराका ज्यूँदाहरू (The Living of Jogimara)

Centre for Investigative Journalism

Year: 2002, Duration: 38 minutes

In early 2002, 17 construction workers from Jogimara, Dhading were killed by the Nepali army while building a runway in another district–Kalikot. They were branded ‘terrorists’ by the state, and their families did not get their dead bodies or any compensation. Some families have conducted last rites for their loved ones; other wait, hoping their relatives will return.

 

 

भोकमरीको मौसम (Famine in Far West)

Centre for Investigative Journalism

Year: 2003, Duration: 33 minutes

Conflict-induced food shortage in western Nepal hills

 

कर्णालीमा युद्ध र शान्ति (Seeking Peace in Karnali)

Nepal Forum of Environmental Journalism

Year: 2003, Duration: 33 minutes

Human rights violations in Karnali during the violent conflict.

 

 

अमृता शाही छोराका साथमा ।

Six Stories

Year:  2004, Duration: 42 minutes

Images Nepal/Centre for Investigative Journalism

Story of six women whose husbands were killed in Nepal’s 10-year long conflict.

 

The Wait Continues

International Committee of ICRC Mission in Nepal

Year: 2007, Duration: 14 minutes

The Living of Joigimara revisited after 5 years.

“The 3rd prize goes to the ‘The Wait Continues’, directed by Mohan Mainali (Nepal), for highlighting the plight of those waiting for persons neihter living nor dead but “missing” in life.”

Jury, SAFMA South Asian Documentary Film Festival (27-30 December 2008, Kathmandu)

 

लालजना बोहरा र उनका छोराछोरी ।

पुनेको प्यान्ट (Pune’s Trouser)

Mohan Mainali

Year: 2010, Duration: 34 minutes

Struggle of a conflict-hit family in western Nepal hills to send its children to school.

 

 

रिउली दमाईः मन त कठै कहाँ छ कहाँ !

Reuli’s broken home

Year: 2010, Duration: 12:34 minutes

Mohan Mainali

Reuli’s life became uncomfortable after husband was killed during Nepal’s internal conflict.

 

 

 

 

Shadows of Hope

International Committee of ICRC Mission in Nepal

Year: 2010, Duration: 21 minutes

The decade of conflict in Nepal, from 1996 to 2006, caused the disappearance of over 1,300 people. Today, their families are still waiting for information on the fate of their loved ones. Hope for information may be all that families have to relieve the anguish caused by uncertainty.

 

फिचर/लेख

हिमाल खबरपत्रिका

१. मृत्यूभन्दा कठोर सजाय २०५९ साउन १-१५ गते
२. सेती-कर्णालीका पहाडबासीलाई अनिकालबाट बचाऊ २०५९ मंसिर १-१५ गते
३. “कालसेना” माथि शाही सेना २०५९ मंसिर १-१५ गते
४. शहरमा शान्ति गाउँमा सास्ती २०६० जेठ १-१५ गते
५. रेउलीको उठीबास २०६६ असोज १-३१

 

कान्तिपुर दैनिक

१. आँशुमा डुबेको वर्ष दिन २०५९ फागुन १९ गते
२. भो, धेरै रगत पोखियो २०६० भाद्र २० गते
३. कलमको पीडा २०६१ वैशाख २३ गते
४. थोरै मानिसका धेरै रोग २०६१ वैशाख ३१ गते
५. स्कूल छन् पढाइ छैन २०६१ असार १३ गते
६. बन्दुकले रोकेको खाद्यान्न २०६१ असार २० गते
७. पाण्डुसेनका भक्तबहादुर २०६१ असार २७ गते
८. आफैँलाई मारेर फालेको सपना २०६१ साउन ३ गते
९. भगौडा सिपाही २०६१ साउन १० गते
१०. व्यवस्थाभन्दा ज्यान ठूलो २०६१ साउन १७ गते
११. सधैँसधैँ मेरा विपनामा २०६१ साउन ३१ गते
१२. आदर्श पिताको दुःखद अन्त्य २०६१ भदौ १३ गते
१३. बन्दुकको घाउ २०६१ भदौ १३ गते
१४. बाजुरा र दार्चुलामा अनिकाल २०६१ कात्तिक १ गते
१५. बेघरबार २०६१ कात्तिक १५ गते
१६. ६ विधवाको कथा २०६१ मंसिर २७ गते
१७. सम्भव भएको असम्भव काम २०६१ पुस १८ गते
१८. गरिबीले बोकाएको बन्दुक २०६१ पुस २५ गते
१९. मान्छे डराएको त्यो जुग २०७१ फागुन २ गते

नागरिक दैनिक

यत्ति पनि भएन, २०७१ मंसिर १३ गते

 

गोरखापत्र

सरकार शत्रु हुने चलनको निरन्तरता, २०६५ माघ १० गते

 

Nepali Times

1. The east is red 5-11 July 2002
2. Unfriendly fire 9-15 August 2002
3. H is for helipcopter 30 August to 5 September 2002
4. Famine by February 22 November 2002
5. “Our descendants are doomed” 6-12 December 2002
6. One Country, two systems 20-26 June 2003
7. Most-affected by conflict 12-18 August 2005
8. From war to peace 20-26 March, 2009
9. Killed by Hunger  20-26 March 2009
10. Journalism of Attachment  12-18 December 2014
11. Making War on the day of love 20-26 February 2015

 

Papers presented

  1. Publishing Under Threat, Global Investigative Journalism Conference, May 1-4, 2003, Copenhagen, Denmark
  2. Working Under Extreme Conditions: Getting the story done under threat of killings, prion and no publishing, Global Investigative Journalism Conference, May 1-4, 2003, Copenhagen, Denmark
  3. Nepali Press: Pressed by the Predators,  Global Investigative Journalism Conference, May 1-4, 2003, Copenhagen, Denmark

 

 

Advertisements

खजाना खोलेजस्तो

आलोपालो गरी हाम्रा कार्यकारी निकायमा जाने गाढा राता, खुइलिँदै गएका राता अनि खरानी रङका, आकर्षक ध्यानमुद्रा र अंगविन्यास भएका, गर्धन छोटै भए पनि हात लामा भएका ध्यानी प्रजातिका राजनीतिक नेता पनि त यस्तै ध्यान गर्दैछन् हैन र ? आफ्ना मालिकअनुकूलका, तिनलाई अनुकूल हुने गरी भाँचकुच पारिएका जानकारी र तिनका आधारमा गरिएका अपव्याख्या हामीलाई पस्कने, थरीथरीका रङका ध्यानी प्रजातिका बुद्धिजीवी पनि त्यसै गरिरहेका छैनन् र ! ध्यानी प्रजातिका भ्रष्टाचार निवारक पनि त्यसै गरिरहेको देखेका छौँ हामीले । बैंकबाट निकाल्न नमिल्ने पैसा ‘निकाल्न दे’ भनी आदेश दिने न्यायाधीशको प्रजाति पनि त ध्यानी नै होला !

मोहन मैनाली

 

जीवन र जगत्‌का बारेमा बुझाउन डा. तीर्थबहादुर श्रेष्ठ नेपाली लोकगीतको एउटा टुक्रा सापट लिन्छन्  । गीतले भन्छ– ‘चैत जाँदो वैशाख लाग्दो, सुन हजुर सालको पात पलायो  ।

त्यसपछि उनी भन्थे, चैत जाँदा/वैशाख लाग्दा सालको जुन रूखमा नयाँ पात पलाउँदैन, त्यो रूख मर्‍यो भन्ने ठान्नू ।

प्रकृतिको यो र यस्तै नियमका बारेमा बताउँदा धेरै वैज्ञानिकहरू जटिल पाराले भन्छन् । तर डा. श्रेष्ठ जनजिब्रोमा चल्तीका भनाइ/गीत/कवितामार्फत बताउछन् । प्रस्ट पनि हुने, सरल पनि हुने गरेर । २०७५ को चैत जाँदो र २०७६ सालको वैशाख लाग्दो उहीँ श्रेष्ठको नयाँ किताब ‘नेपाल अध्ययन (भाग १)ः भू–स्वरूप र हावापानी’ पढ्ने मौका मिल्यो । पढ्दै जाँदा लाग्यो यो किताब सरल र रोचक शैलीमा लेखिएको ज्ञान र अनुभवको भण्डार हो । ज्ञानको भण्डार नहोस् पनि कसरी ! निकै दुःखले भेला गरेका जानकारी र अनुभव यसमा छन् । २०२० साल अर्थात् म नजन्मँदैको कुरा रहेछ । डा. श्रेष्ठ वनस्पति अध्ययनका लागि पोखरासम्म प्लेनमा गएछन् । पोखराबाट हिँडेर टुकुचे अनि मुक्तिनाथ हुँदै पैदलै पोखरा फर्किएछन् । त्यसको तीन वर्षपछि फेरि पोखराबाट हिँड्न थालेछन् । यसपाली पोखराबाट पश्चिमउत्तर हानिएर ढोरपाटन पुगेछन् । त्यहाँबाट दुनै, जुम्ला खलंगा, रारा ताल । राराबाट फर्कंदा अहिले हामीले गर्नेजस्तो ताल्चाबाट प्लेन/गाडी चढेनछन् । भित्री हिमाल अर्थात् हिमालको दक्षिण हाँगो पार गरेर उत्तरी डोल्पा पुगेछन् । अनि कागबेनी, मुक्तिनाथ, घोडेपानी हुँदै पोखरा आइपुगेछन् । यो यात्रा ७५ दिनको रहेछ !

पत्रकारिताका सिलसिलामा जानकारी संकलन गर्दाका अनुभव बताउनुपर्ने ठाउँमा म थोरै गर्ब र धेरै दम्भका साथ भन्ने गर्थें– ‘गाडीको बाटोलाई छाडेर बेनीघाटबाट बूढीगण्डकी नदीको पानीढलो घुमेर मर्स्याङ्दीको पानीढलोमा पसेर गोरखा बजार आइपुग्दा मात्र गाडी हामीले गाडी देख्न पाएका थियौँ । यति बाटो छिचोल्न हामीलाई २६–२७ दिन लागेको थियो ।’ अब यसो भन्न मैले कि त छाड्नुपर्‍यो, कि त श्रेष्ठको यो किताब नपढेका/नपढ्ने मानसिको हूल फेला पार्नुपर्‍यो ! दुई वर्षपहिले डा. श्रेष्ठले मलाई मैले पैदल घुमेका ठाउँको नक्सा मागेका थिए । मैले फुर्तीसाथ नेपाल र त्यसको केही पश्चिममा पर्ने भारतका विभिन्न ठाउँमा म हिँडेको बाटो नक्सामा उतारेर दिएको थिएँ । अहिले आफैँलाई लाज लागेर आयो । म जन्मनुअघिदेखि अहिलेसम्म पनि निरन्तरजस्तो हिँडेर ज्ञान र अनुभव बटुलिरहने मान्छेका अगाडि जीवनको छोटो समयमा केही दिन पैदल हिँडेर जानकारी बटुल्ने मान्छेले फुर्ती लगाएकोमा । पैदल हिँडेर भेला गरिएका सामग्रीको महत्त्व र गुरुत्व अलग हुन्छ । ‘प्रकृति अध्ययनका क्रममा हाम्रा सबै इन्द्रिय परिचालन हुनुपर्छ,’ उनले भनेका थिए ।

पैदल हिँड्दा कुनै ठाउँको बिहान, दिन र रातको अवस्था थाहा पाइन्छ । आँखाले देख्छ, कानले सुन्छ, नाकले सुँघ्छ, छालाले त्यहाँको तापक्रम जाँच्छ, खुट्टा र फोक्सोले आफू हिँडिरहेको ठाउँको भिरालोपन र उचाइ नाप्छन् । गाडीमा त्यो पनि एयरकन्डिसनर गाडीमा हिँड्दा यस्तो केही हुन पाउँदैन । त्यसैले श्रेष्ठ भन्छन्– ‘जुन ठाउँमा म रात बसेको हुन्नँ त्यो ठाउँ पुगेँ भन्दिनँ ।’ श्रेष्ठका साथमा जानकारी संकलन गर्नका लागि केही साधन पनि साथमा थिए– उचाइ नाप्न अल्टिमिटर, दिशा पत्ता लगाउन कम्पास, बाटो पत्ता लगाउन नक्सा, फोटो खिच्न क्यामरा । आफूले भेटेका मानिसलाई उनले ‘परम्परागत ज्ञानका भण्डार’ भनेका छन् । यी सबै कुराको संयोजन गर्ने भित्री आँखा अर्थात् वनस्पति, भूबनोट र समाज अध्ययन गर्ने ज्ञान पनि थिए लेखकसँग । उनको अनुभवले भन्छ, ‘…खोजपूर्ण यात्रामा निस्कियौँ भने हिमालयको काखमा कतै लुप्त अवस्थामा, कतै गुप्त अवस्थामा त कतै सुप्त अवस्थामा सानाठूला भूस्वर्ग भेट्छौँ ।’

काठमाडौँको आकाशबाट सोझो पश्चिम हानिँदा ९० किलोमिटर मात्र टाढा गोरखा जिल्लामा पर्छ एउटा यस्तो भूस्वर्ग । त्यस अलौकिक ठाउँको नाम हो चुम उपत्यका । त्यस ठाउँबारे उनले लेखेका छन्, ‘नेपालमा सबैभन्दा कम सुनिएको, कतिपय नेपालीले थाहै नपाएको, मानवबस्ती र प्राचीन संस्कृतिले सुसज्जित त्यो विशाल उपत्यका सबैतिरबाट लुकीबसेको छ ।’ त्यो ठाउँ पुग्न उनलाई ९ दिन लागेछ । यसबाट नेपालका भूस्वर्गका एउटा विशेषता प्रस्ट हुन्छ— नजिक भईकन पनि टाढा हुने विशेषता । आफ्नै देशमा भएका यस्ता भूस्वर्गमा जिउँदै पुगेर फेरि मर्त्यलोकमा फर्कन पाउने अवसर हामीसँग छ । श्रेष्ठले किताबमा वर्णन गरेको त्यो स्वर्गमा म पनि पुगेको थिएँ २०५१ सालमा । निकै दिन हिँडेर । तर त्यस स्वर्गमा पुग्दा, त्यहाँ बस्दा मैले त्यहाँका कैयन विशेषता थाहा पाइनँ । खासमा, मैले त्यस ठाउँलाई चिनेको रहेनछु किनभने त्यति बेला म आफ्ना दुईवटा बन्द आँखा लिएर गएको थिएँ । यो किताबमा त्यस ठाउँका बारेमा पढेपछि ती आँखा खुलेका छन् । अर्थात्, यस किताबले मलाई दुईवटा भित्री आँखा दियो जसका सहायताले अब म त्यस भूस्वर्गलाई चिन्न सक्छु । अब फेरि जान पाएचाहिँ त्यो उपत्यकालाई राम्ररी देख्ने रहेछु मैले ।

यस पुस्तकमा अरू पनि धैरे कुरा छन् । भूकडी र भूसेतु, जलवायु परिवर्तन र पहाड, पानी, महत्त्व बोकेका केही स्थान, भूकम्प र हामी गरी पाँचवटा खण्डमा छरिएका २१ वटा निबन्धमा तिनै ठाउँलाई भूस्वर्ग बनाउने जीवित र निर्जीव तत्त्वका कुरा छन् । यस पुस्तकमा संग्रह भएका सामग्री यसअघि शिक्षक मासिकमा छापिएका थिए । त्यसो भनेर यिनका सन्दर्भ कत्ति पनि पुराना भएका छैनन् । ‘अँध्यारोमा बसेका मानिसलाई बिजुलीको उज्यालो भएका ठाउँमा पु‍र्‍याउनु एउटा कुरा हो भने अँध्यारोमा बसेका मानिसबीच बिजुली पु‍र्‍याउनु अर्कै कुरा हो,’ श्रेष्ठले एक ठाउँमा लेखेका छन् । यो विकासको मोडेलको कुरा पनि हो । कुनखालको विकास कसरी गर्ने भन्ने कुरा पनि हो । अहिले अँध्यारोमा बसेका मानिसलाई बिजुली पुगेका ठाउँतिर तान्ने/धकेल्ने खालको विकास भइरहेको छ । त्यसले गर्दा बिजुली पुगेका र नपुगेका दुवै ठाउँको बिजोग भएको छ । लेखकले भनेझैँ गर्नसके नेपालका गाउँ बाँझो बसेका अनि खानेकुरा विदेशबाट बेसाउनुपरेको खबर सुन्नुपर्दैनथ्यो होला ।

पश्चिम नेपालको कैलालीमा पर्ने प्रसिद्ध ताल घुमेपछि श्रेष्ठले लेखेका छन्, ‘घोडाघोडी सिमसारमा भेटिने हल्का प्याजी जीउ र कटुस रङको लामो गर्धन भएको पर्पल हिरनलाई ध्यानी बकुल्ला भन्न सुहाउँछ । यसको ध्यान मुद्रा र त्यसबेलाको अंगविन्यास निकै आकर्षक हुन्छ ।’ वरपरका कुनै पनि कुराबाट विचलित नभईकन एकाग्र भएर त्यो ध्यानी बकुल्लाले ध्यानचाहिँ केमा दिइरहेको हुँदो हो ? ‘माछा, छेपारो वा भ्यागुत्ता नजिक पर्नासाथ यिनको (अर्थात् ध्यानी बकुल्लाको) सिकारी झट्का मिलिक्क बिजुली चम्केसरह छिटो हुन्छ । आफ्नो ताक र त्यसको ताल यसले बिराउँदैन । प्रायः अचुक हुन्छ,’ उनले लेखेका छन् ।

निहुँ बकुल्लाको, कुरा त हामी मान्छेको पो हो यो । घोडाघोडी सिमसारको होइन नेपाल नामक दलदलको पो हो । आलोपालो गरी हाम्रा कार्यकारी निकायमा जाने गाढा राता, खुइलिँदै गएका राता अनि खरानी रङका, आकर्षक ध्यानमुद्रा र अंगविन्यास भएका, गर्धन छोटै भए पनि हात लामा भएका ध्यानी प्रजातिका राजनीतिक नेता पनि त यस्तै ध्यान गर्दैछन् हैन र ? आफ्ना मालिकअनुकूलका, तिनलाई अनुकूल हुने गरी भाँचकुच पारिएका जानकारी र तिनका आधारमा गरिएका अपव्याख्या हामीलाई पस्कने, थरीथरीका रङका ध्यानी प्रजातिका बुद्धिजीवी पनि त्यसै गरिरहेका छैनन् र ! ध्यानी प्रजातिका भ्रष्टाचार निवारक पनि त्यसै गरिरहेको देखेका छौँ हामीले । बैंकबाट निकाल्न नमिल्ने पैसा ‘निकाल्न दे’ भनी आदेश दिने न्यायाधीशको प्रजाति पनि त ध्यानी नै होला ! सिकार नजिक पर्नासाथ यी सबै ध्यानीको झट्का मिलिक्क बिजुली चम्केसरह छिटो हुँदैन र ? यिनको पनि त निसाना प्रायः अचुक हुन्छ ।

विपद् आइलाग्नुभन्दा पहिले सूचना दिन सके धेरै मानिसको ज्यान जाँदैन । केही वर्षअघि आएको एउटा विपद्बारेमा उनले लेखेका छन्, ‘हुडहुड आउँदै छ भन्ने मौसम पूर्वानुमानका समाचार मनाङमा चौंरी चराउने गोठालाहरूले १२ घण्टा जति अगाडि मात्र पाएका भए आठ ज्यान हिउँमा पुरिनुपर्ने थिएन । “आठ नेपालीसहित १२ पर्यटकको मृत्युको खबर सुन्नुपर्ने थिएन । …अब त चेतौँ ।’ ‘ज्यान जाला चेत्दिनँ’ भनेर बसेपछि कहाँ चेतिन्छ र ? उनले यो कुरा लेखेको झन्डै साढे चार वर्षपछि हिजोअस्ति बारा पर्सामा भुइँभुमरी आउनुअघि हामीले त्यसको खबर दिन सकेनौँ । जलवायु परिवर्तनले गर्दा यसअघि भोग्नु नपरेका भुमरीजस्ता विपद् आउँछन् भनेर डा. श्रेष्ठले नै निकै पहिले हामीलाई सचेत गराएकै थिए ।

‘स्कुल लिभिङ सर्टिफिकेट कन्ट्री लिभिङ सर्टिफिकेट नबनोस्,’ यस किताबको अन्तिम वाक्य पढेका बेला नेपालका अखबारमा कोरिया जाने परीक्षाको फारम भर्न लम्बेतान लाम लागेको खबर छाएको थियो । नेपाल पसेपछि आकाशको जाममा चक्कर लगाउन बाध्य हवाइजहाज ‘कन्ट्री लिभिङ सर्टिफिकेट’ बोकेका मानिस त बोकेर नेपाल बाहिरिन्छन् । कुनै किताब किताबमात्रै हुन्छन् । कुनै किताब किताब त भइहाल्छन्, ती थप ज्ञान आर्जन गर्नका लागि कच्चा पदार्थ पनि हुन्छन् । यो यस्तै किताब हो जसमा भएका ज्ञानको उपयोग गरेर नेपाली समाजले थप ज्ञान आर्जन गर्छ । कसैले लेखेको पढेको थिएँ । पत्रकार र साहित्यकारमा एउटा समानता हुन्छ । त्यो हो– उनीहरू कुनै पनि कुरालाई फरक किसिमले हेर्छन् र फरक पाराले प्रस्तुत गर्छन् ।

 

नेपाल अध्ययन (भाग १) : भूस्वरूप र हावापानी

लेखक : डा. तीर्थबहादुर श्रेष्ठ

प्रकाशक : शिक्षक मासिक

मूल्य : रु, ३००

यो किताब पढेका भए ती मानिसले भन्ने थिए— वनस्पतिविद् र साहित्यकार एउटा कुरामा समान हुन्छन् । उनीहरू जुनसुकै कुरालाई पनि रोचक पाराले प्रस्तुत गर्छन् । किताबबाट एउटा उदाहरण हेरौँ । समुद्रको सबैभन्दा गहिरो पिँध कति गहिरो होला ? लेखकले किलोमिटरमा बताइदिएका छन् । तर, यसले उनको चित्त बुझेनछ । लेखे, ‘सगरमाथालाई त्यहाँ लगेर डुबाइदिने हो भने त्यसको शिखर पानीभन्दा दुई किलोमिटर तलै डुबैको हुन्छ ।’ किलोमिटरले बोधो खालको जानकारी मात्र दिन्थ्यो । नेपाली पाठक अति धेरै परिचित रहेको सगरमाथासँग तुलना गरेर लेखकले यसलाई छर्लंग पारिदिए ।

२०७२ सालको भुइँचालोपछिका आतंकपूर्ण रातको सम्झना उनले शान्त भएर गरेका छन्, ‘संसारभरका कुकुरको कान सापटी लिएर चनाखो भएझैँ सिंगो रात अनिदै बित्न थाल्छन् ।’ भुइँचालो गएको एक हप्तापछि धरहरामुनि (ए होइन, धरहरा भएको ठाउँमुनि) पुगेका लेखकलाई लाग्यो, ‘धरहरामुनि बसेर चिच्याउँदै चक्काजाम र नेपाल बन्द गराउने लाखौँ कार्यकर्ताका हातहरू आज कहाँ पुरिए ? एउटा इँटा उठाउने मानिस छैन । …धरहराको आकाशमा एउटा ठूलो भ्वाङ परेको रहेछ । आकाश रित्तो लाग्यो । सधैँ धरहराको सुरिलो उचाइसँग आकाश पुग्ने मेरा आँखासामु खुला आकाश थियो । भ्वाङ परेको आकाश किनभने त्यहाँ धरहरा थिएन ।’

सधैँभरि हाँसिरहने फूललगायतका वनस्पतिको अध्ययनले हो कि, जन्मजात क्षमताले हो कि, रुचिले पो होला कि, कि घुमेका ठाउँ अनि भेटेका मान्छे, संगत गरेका साहित्यकार अनि अध्ययन गरेका साहित्यले हो कुन्नि डा. श्रेष्ठको कलम रोचक बाटो भएर हिँड्छ । यत्रो दुःख गरेर भेला गरेका, आफ्नो लामो र सदा सक्रिय जीवनका अनुभवसँग घोलेर सुन्दर प्रस्तुतिमा उनिएका यस किताबका सामग्री पढ्न अल्छी ग‍र्‍यौँ भने त हामी लास्टै अल्छीमा गनिएलाउँ कि !

यो पुस्तक ‘पढ्न त पढ्ने हो तर अलि पछि’ भन्न पनि नमिल्ने भएको छ किनभने यस पुस्तकको प्रकाशक शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले यसै किताबमा लेखेका छन्, ‘नेपाल अध्ययनको यस शृंखलाका दोस्रो र तेस्रो भाग पनि आउँदै छन् ।’ यसो भन्नुको अर्थ यसो होलाः यो पुस्तक मीठो छ भनेर पढ्ने बेलामा धेरै फारु नगर्नुहोला किनभने श्रेष्ठले नै लेख्नुभएका, यस्तै मीठा अरू दुईवटा किताब चाँडै तपाईंको हात पर्छन् ।

यस शृंखलाका बाँकी भागमा र यही भागको अर्को संस्करणमा चाहिँ मलाई एउटा ठूलो पेजमा छापिएको नेपालको नक्सा पनि पढ्न मन लागेको छ जहाँ डा. श्रेष्ठले हिँडेको पैदल बाटो, त्यो बाटो हिँडेको साल, त्यो बाटो हिँड्न लागेको समय आदि कोरिएका होऊन् । त्यो नक्सा हेरेर उनले हिँडेको बाटो हिँड्न नसके पनि उनको किताब पढ्दै गर्दा आफू पनि त्यही बाटो हिँडेको सुखद कल्पना त गर्न सक्छु नि !

२०७५ जेठ ४ गते कान्तिपुर कोसेलीमा प्रकाशित

गोदावारी बचाउ आन्दोलनः मच्चियो, मच्चियो, थच्चियो

हिमाल, पुष-माघ २०५४ मा प्रथम पटक प्रकाशित

 

मोहन मैनाली 

गोदावरीका बारेमा केही बर्ष अघिसम्म नियमित रूपमा अखबारमा चर्चा हुन्थे । अदालतमा बहस हुन्थे । सरकारी र गैरसरकारी निकाय, उद्योग प्रतिष्ठानमा यसका बारेमा चिन्ता गरिन्थ्यो । कार्यदल बनिन्थे । सडकका जुलुस र अनशनका प्ले कार्डमा गोदावरी हुन्थ्यो । त्यति बेला एकथरी गोदावरी मार्बल उद्योगको सतोसराप गर्थे । उद्योग बन्द गर्नुपर्छ भन्थे। अर्काथरी गोदावरीको विरोध गर्नेको उछित्तो काड्थे, वातावरण संरक्षणका निहुँमा डलर खानेहरूले विकास ठप्प पार्ने भए भनेर ।

गोदावरीबाट मार्बल झिक्ने काम बन्द भयो कि ? वातावरणवादी पो हारे कि ? कहिलेकाहीं लडाइँमा दुवैथरी विजयी हुन्छन् पनि भन्छन् मान्छेहरू । यहाँ पनि यस्तै भयो कि ? आजभोलि गोदावरी अस्तित्वमै छैन कि जस्तो भान पर्नेगरी सुनसान छ ।

दुई वर्ष यता गोदावरीको हाल खबर आउन चटक्कै छाडेको छ।

गोदावरीमा वातावरण बचाउने आन्दोलनको सुरुआत २०४० सालमा स्थानीय बासिन्दाहरूले गरेका थिए । उनीहरूले गोदावरी मार्बल उद्योगले गाउँलेहरूलाई असर पारेको छ भनेर त्यसको विरोध गर्न गोदावरी बचाउ समिति गठन गरे र मार्बल फ्याक्ट्री बन्द गर्न माग गरे ।
त्यसपछि २०४३ सालमा खुलेको नेपाल वातावरण पत्रकार समूहले आफ्नो पहिलो सार्वजनिक कार्यक्रम गोदावरीमै गरेको थियो- पत्रकारहरूको भ्रमण गराएर । २०४५ सालमा त्यस भेगका धेरै गाउँ पञ्चायतहरूले पनि मार्बल उद्योग बन्द गराउन माग गरे । २०४५ साल वैशाखमा लिडर्स इंकले गोदावरी मार्वल उद्योग बन्द गरियोस् भनी सर्वोच्च अदालतमा मुद्दा हाल्यो । जन आन्दोलनभन्दा केही अघि वन तथा भू-संरक्षण मन्त्रालयले यस सम्बन्धमा छानबिन गर्न एउटा कार्यदल पनि गठन गयो।

जन आन्दोलनपछि यो क्रम अझ बढ्दै गयो । थप कार्यदल गठन भए । मार्बल उद्योग विरोधी आन्दोलन खाली खुट्टा हिंड्ने गाउँलेका हातबाट सरेर सहरका चिल्ला कारमा पस्यो। वातावरण प्रति चिन्तित गैर सरकारी संस्थाहरूले मिलेर “काठमाडौं उपत्यका वातावरण बचाउ आन्दोलन” भन्ने एउटा अनौपचारिक मोर्चा गठन गरे । यसको छहारीमा बसेर गैरसरकारी संस्थाहरूले सरकारलाई विरोधपत्र दिए । अनशन बसे । जुलुस निकाले । तर अन्त्यमा चुप लागेर बसे। २०५२ सालमा सर्वोच्च अदालतले उद्योग बन्द गर्नु नपर्ने ठहर गर्दै वातावरण संरक्षणका उपाय कार्यान्वयन गराउन श्री ५ को सरकारलाई सुझाउ दिएपछि यस बाह्र बर्से आन्दोलनको अन्त्य भयो । गोदावरी बचाउने आन्दोलन मच्चियो, मच्चियो र आखिरमा थच्चियो ।

आन्दोलनकारीहरूले चाहेको जस्तो परिणाम आन्दोलनबाट नआए पनि यसबाट केही कुरा सिक्ने मौका भने नेपालीहरूले पाए। आमसभादेखि लिएर अदालतसम्म लडिएको बाहुबर्से यस लडाइँले प्रत्यक्ष रूपमा निजी स्वार्थ नगाँसिएका तर सामाजिक स्वार्थका विषयहरूमा बोल्ने जो सुकैका लागि पनि धेरै ठूलो पाठ पढाएको छ ।

गोदावरी मार्बल उद्योगले गर्दा सिँचाइ गर्न अप्ठ्यारो भएकाले स्थानीय बासिन्दाहरू उद्योग बन्द गर्नुपर्छ भन्थे । गोदावरी बाहिरका मान्छेहरू काठमाडौं शहरका मानिसहरूलाई खाने पानी खुवाउन गोदावरीको एक एक थोपा पानी संरक्षण गर्नुपर्छ भन्थे । उनीहरूका विचारमा दैनिक ४ करोड ३० लाख लिटर पानी आपूर्ति गर्ने कोड्कु खानेपानी आयोजना सफल पार्न पनि फ्याक्ट्री बन्द गर्नुपर्ने थियो । आफ्नो खेतबारी सुकाएर काठमाडौंका मान्छेलाई पानी खुवाउन गरिने आन्दोलनलाई स्थानीय बासिन्दाले समर्थन गरिराख्ने कुनै आधार थिएन । एक आपसमा नमिल्ने स्वार्थ भएका मानिसहरूले सँगै चलाएको आन्दोलन टुङ्गामा पुग्दैन । गोदावरीमा पनि यस्तै भयो ।

काठमाडौंका मानिसहरूले स्थानीय बासिन्दालाई के आशा देखाएका थिए भने मार्बल फ्याक्ट्री बन्द गराएपछि गोदावरी संरक्षण क्षेत्र हुन्छ । त्यस पछि पर्यटक आउँछन् । गाउँलेको राम्रो आम्दानी हुन्छ । तर उनीहरूले यो कुरा पत्याएनन् । गोदावरी संरक्षण क्षेत्र हुँदा काठमाडौंका ट्राभल एजेन्सीले पर्यटकलाई घुमाउने अर्को एउटा ठाउँ बढ्न सक्दो हो । टुरिस्ट गाइडले फाइदा उठाउँदो हो। तर गाउँलेले फाइदा पाउने कुरामा भने कमै मात्र विश्वास गर्न सकिन्छ । बरु मार्बल उद्योगले त केहीलाई भएपनि रोजगारी दिएको छ । आफूलाई अथवा आफ्ना मान्छेलाई घर बनाउनुपर्दा थोरबहुत गिटी मार्बल फ्याक्ट्रीले नै दिने गरेको छ । यस बाहेक सामुदायिक कामहरूमा पनि मार्बल फ्याक्ट्रीले नै सानोतिनो सहयोग गरेको छ जुन सहयोग गाउँलेहरूले अरूबाट पाएका थिएनन् ।

२०५० सालमा गोदावरीका सम्बन्धमा राष्ट्रिय योजना आयोग अन्तर्गतको प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षण परिषद्द्वारा गठित कार्यदलले गोदावरीमा आयोजना गरेको बैठकमा स्थानीय बासिन्दा र फ्याक्ट्रीका कामदारहरूले मार्बल फ्याक्ट्री बन्द गर्न खोज्ने गैर सरकारी संस्थाहरूको विरोध गरे । बैठकको माइन्युट च्यातिदिए। मार्बल फ्याक्ट्रीले पैसा दिएर आफ्नो विरोध गर्न मान्छे लगाएको दावी गैर सरकारी संस्थाहरूले गरेपनि भावनामा बग्ने बाहेकका स्थानीय बासिन्दाहरू मार्बल फ्याक्ट्री हटाउँदा गोदावरी क्षेत्रमा पर्ने असरप्रति चिन्तित थिए ।

सडकमा हिंडिरहेको कुनै गाडीले कुखुराको चल्ला मार्‍यो भने क्षतिपूर्ति लिने बेलामा त्यस चल्लाले ठूलो भएर पार्ने फुल, त्यसबाट निस्कने चल्ला र तिनले गर्ने आम्दानी समेतको हिसाब गर्ने चलन छ भनिन्छ । गोदावरी मार्बल फ्याक्ट्रीबाट भैरहेका क्षति र बन्द गर्दा हुने फाइदाको अनुमान पनि गोदावरी आन्दोलनकारीहरूले यस्तै सूत्र लगाएर गरेका थिए । त्यसैले यस्ता मान्यतामा आधारित मागलाई निर्णयकर्ताहरूले सुनेर उडाउने मात्र काम गरे जुन स्वभाविक थियो ।

“स्यालको शिकार गर्ने बाघको खजाना तयार गर्नुपर्छ भन्ने नेपाली उखान छ । सजिलो सित नेपाली उच्चारण गर्न नसक्ने सो आन्दोलनका नेतृत्व तहका मान्छेहरूले सायद यो नेपाली उखान कहिल्यै सुनेका थिएनन् । त्यसैले उनीहरू बाघको शिकार गर्न जाँदा स्यालको खजाना बोकेर हिंडे । आन्दोलन अवधिभर मार्बल फ्याक्ट्री र यसका शुभचिन्तकहरूले हरेक कुरामा दक्षता र प्रतिबद्धताका साथ काम गरे । उनीहरू आफ्ना आलोचकप्रति पनि सहिष्णु थिए तर मार्बल विरोधीहरूको काम गराइ झारा टार्ने खालको थियो । काममा निरन्तरता थिएन । फरक मत भएकाप्रति उनीहरू सोझै आक्रमण गर्थे, आरोप लगाउँथे ।

गोदावरी मार्बल उद्योगका विषयमा चर्चा चलिरहेकै बेला वातावरण पत्रकारिता विषयमा आयोजित कार्यशालाका सहभागीहरूले दुवै पक्षका कुरा सुने । उनीहरू गोदावरीको स्थलगत भ्रमणमा गए । पत्रकारहरू मार्बल फ्याक्ट्रीको अनुचित प्रभावमा नपरून् भनेर सो स्थलगत भ्रमणका आयोजकहरूले गाडी, खानेकुरा र खानेपानीको समेत आफैंले बन्दोबस्त गरेका थिए । भ्रमणमा आएका पाहुनाहरूलाई एक एक बोतल चिसो खुवाउने आफ्नो अधिकार नखोसियोस् भनेर मार्बल फ्याक्ट्रीका व्यवस्थापकहरूले जिद्धी गरेपछि खाएको चिसो बाहेक पत्रकारहरूले त्यहाँ अरू केही कुरा खाएनन् । त्यहाँ खाली मार्बल उद्योग र वातावरणीय समस्याका बारेमा कुरा भए । भ्रमणको सुरुमा मार्बल फ्याक्ट्रीको विरोध गर्ने पत्रकारहरू भ्रमणको अन्त्यमा भन्दै थिए- “पैसा भएको भए त यसमा लगानी पो गर्नुपर्ने रहेछ ।”

२०४९ सालमा गोदावरी सम्बन्धमा अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनको भाषा सम्पादनको जिम्मा यस लेखकले पाएको थियो। सो प्रतिवेदनको मस्यौदा एक पटक सम्पादन भैसकेपछि कार्यदलका सदस्य बीच मतभेद भयो । अध्यक्ष डा. नरसिंह नारायण सिंह र खानी विभागका निर्देशकले खानी बन्द नगरी संरक्षण कार्य गर्नुपर्छ भन्ने विचार राखे । बाँकी सदस्यहरूको मत थियो- उद्योग बन्द नगरी संरक्षणका कार्य गर्नु बेकार हो । दुवै पक्षका सदस्यहरूले आ-आफ्ना विचार लेखे । उद्योग बन्द गर्नु हुँदैन भन्नेहरूले मेहनत गरेर आफ्नो तर्क राखे । बन्द गर्नुपर्छ भन्नेहरूले उति मेहनत गरेनन् ।

उद्योगपतिहरूको भविष्य मार्बल उद्योगसँग गाँसिएको थियो। त्यसैले उनीहरू उद्योग बन्द हुन नदिन तर्क गर्न, व्यावसायिक र दक्ष मानिसहरूलाई राम्रो पारिश्रमिक दिन सक्थे । यस काममा निरन्तरता दिन सक्थे । पैसा हुनेहरूले गर्न सक्ने अरू कुरा त छँदै थिए । त्यस्तासँग तयारी नगरी जानु भनेको हार खान जानु मात्र हो ।

गोदावरी आन्दोलनले जतिबेला चरम रूप लिएको थियो त्यति बेला । काठमाडौंको फोहर फाल्ने ठाउँ नपाएर जात्रा थियो । तर गोदावरीको कुरा उठाउनेहरूलाई आफ्नो घरअगाडि फोहरको भन्दा बढ्ता चिन्ता मार्बल फ्याक्ट्रीले नाङ्गो बनाएको गोदावरीको डाँडाको थियो । “आफ्ना आँखाले गोदावरीको नाङ्गो डाँडो देखेर दुखेको चित्तमा अरूले साथ दिन ठीक हुन्छ ?” भनेर उद्योगवालाले गरेको प्रचार प्रभावकारी हुने ठाउँ पनि आन्दोलनकारीले राखिदिए।

आन्दोलनकारीहरूको जमातमा यस्ता मानिसहरू पनि थिए जसले उत्पादन गरेका प्लास्टिकले काठमाडौंदेखि नेपाल भारतसीमासम्मको वाग्मतीलाई प्रदूषित पारिरहेको थियो । यस्ता मानिसहरूले गोदावरी जोगाउन बोलेका कुराहरूको तौल कति पो हुन सक्थ्यो र !

२०४२ सालमा खानी ऐन संशोधन भयो । त्यस ऐनमा भएको नयाँ व्यवस्थाले खानी सञ्चालकहरूलाई अलि बढी सामाजिक उत्तरदायित्व थपेको थियो । त्यो ऐन लागू भएका खण्डमा गोदावरी मार्बल उद्योगलाई पनि वातावरणप्रति बढी संवेदनशील हुनुपर्ने दायित्व थपिन्थ्यो होला । तर त्यसलाई लागू गराउन दबाब दिनेतर्फ कसैको ध्यान गएन । यस्तै स्थितिलाई बोध गराउन होला “बुझ्दो न सुझदो, राजदलको हुद्धो, टुंडिखेलमा कुद्धो” भन्ने उखान चलेको ।

अरूले सिक्न सक्ने धेरै कमजोरी भएपनि गोदावरी आन्दोलनले सर्वसाधारण, सरकारी निकाय र उद्योगपति, न्यायालय र विधायकहरूलाई वातावरणप्रति सोच्न बाध्य गरायो।

चितवनको मेडिकल कलेज विरोधी आन्दोलन सफल भयो । किनभने स्थानीय स्तरको आन्दोलनको नेतृत्व समस्याबाट पीडित स्थानीय बासिन्दाले लिएका थिए। कलेज देवघाटबाट अन्त सार्नुपयो। आफ्नो काम र उद्देश्यप्रति प्रतिबद्ध योगी नरहरिनाथ जस्ता व्यक्ति यसमा सामेल थिए । आफूलाई व्यक्तिगत रूपमा कुनै हानी नभएपनि आफूले थालेको कामलाई टुङ्ग्याएरै छाड्न लागिपरेका त्यस्तै मानिसहरूको जमात थियो ‘एलाइन्स फर इनर्जी’ जो आफ्नो उद्देश्यमा सफल भयो । गोदावरीको मार्बल उद्योग विरोधी र चितवनको मेडिकल कलेजका विरोधमा भएका आन्दोलनबाट के कुरा प्रमाणित भएको छ भने आन्दोलन सफल पार्न या त पीडित या त प्रतिबद्ध मान्छे लाग्नुपर्छ । अरू कामबाट फुर्सद लिएर वनभोज खाएझैं रमाइलाका लागि केही गर्न खोज्ने तरङ्गीहरूले हाँकेको आन्दोलन चाहिं सफल हुँदैन ।

हिमाल, पुष-माघ २०५४ मा प्रथम पटक प्रकाशित

 

देखेको देशः विषय सूची

देखेको देश

विषयसूची

 

लेखन भनेको पुनर्लेखन हो

मोहन मैनाली

लेख्ने पेसा अरू धेरै पेसाभन्दा सजिलो छ किनभने यसमा दुईवटा मात्र काम गरे पुग्छ । पहिलो, आफूले लेख्न लागेका विषयमा पोख्त हुने । दोस्रो, लेख्ने सीपमा पोख्त हुने । मैले सुरुमा पढेको पत्रकारितासम्बन्धी किताबले मलाई यसै भनेको थियो ।

केही वर्ष पहिले प्रकाशित उपल्लो थलो, मान्ठा डराएको जुग र हालै प्रकाशित देखेको देशमा राखिएका सामग्री लेख्दा पनि यी काम मेरा दिमागमा ताजा भएर बसेका थिए । मैले यिनै दुईवटा काम सकेसम्म राम्ररी गर्न प्रयास गरेको थिएँ ।

विषयमा पोख्त हुनुपर्छ
पहिलो काम आफूले लेख्न लागेका विषयमा पोख्त हुने । यसको सोझो अर्थ लगाउने हो भने मजस्तो पेसामा लागेका मानिसले यो काम गर्न सक्दैनन् । त्यसैले, म यस भनाइको मर्ममा ध्यान दिने गर्छु । त्यो हो– आफूले लेख्न लागेका विषयमा आमपाठकले थाहा नपाएका सकेसम्म बढी कुरा जान्ने ।
यति गर्दा पनि भन्न मात्रै सजिलो ! जस्तै, देखेको देशको पहिलो सामग्री एक करोड वर्षअघिको नेपालका लागि जानकारी खोज्ने काम । केही वर्षअघि भएको घटना/कामबारे जानकारी खोज्न धौधौ पर्ने हाम्रो जस्तो देशमा एक करोड वर्षअघिको जानकारी कहाँ र  कसरी खोज्नु ?

सुरुमा यो काम पार लाग्ला जस्तो लागेको थिएन । यस्ता वेलामा पत्रकारिता थालेको धेरै वर्षपछि पढेको अर्काे किताब द युनिभर्सल जर्नालिस्टले बाटो देखायो । त्यस किताबमा भनिएको रहेछ, ‘पत्रकारले सोचेभन्दा धेरै बढी मानिसलाई पत्रकारलाई सघाउने काममा यस ग्रहमा खटाइएको छ । आफू पत्रकारलाई सघाउन खटिएको कुरा उनीहरूलाई थाहा नहुन सक्छ तर उनीहरू खटाइएका त यही कामका लागि हुन्… उनीहरूको जागिर जोगाइदेऊ ।’

उनीहरूको जागिर जोगाइदेऊ अर्थात् उनीहरूले गरेका कामलाई उपयोग गर । उनीहरू भनेका विभिन्न विधामा लेखपढ र खोजबिन गर्ने मानिस हुन् ।एक करोड वर्षअघिको नेपालका बारेमा लेख्नका लागि मलाई सहयोग गर्न पनि त कति मानिसलाई खटाइएको होला नि यस ग्रहमा ! यस्तै ठानेर मैले ती मानिस र उनीहरूले गरेका कामबारे खोजी गरेँ ।

यस्तो खोजी गर्दा के थाहा पाएँ भने नेपाल अर्थात् हिमालय आत्मकथा लेख्ने निकै पुराना लेखकमध्येमा पर्दाे रहेछ । यस आत्मकथामा एक करोड वर्षपहिलेको नेपालका बारेमा लेखिएको रहेछ । त्यसमा हिमालयको उत्पत्तिको मात्र होइन, त्यहाँको हावापानी, त्यहाँका वनस्पति, त्यहाँका प्राणीको पनि जीवनी पाइने रहेछ ।

तर हिमालयले लेखेको आत्मकथा म बुझ्दैनथेँ । त्यो आत्मकथा बुझ्ने मानिसले लामो समय लगाएर ती आत्मकथा पढेका रहेछन् र तिनलाई हामीले बुझ्ने (सबै कुरा त उनीहरूले लेखेको पनि बुझिँदैन) भाषामा लेखेर राखेका रहेछन् । उनीहरूले लेखेर राखेका कुरा र उनीहरूसँगको कुराकानीका आधारमा एक करोड वर्षअघिको नेपाल तयार भयो ।

उपल्लो थलो लेख्न थाल्दा मलाई सुरुमा लागेको थियो– गोरखाको उत्तरी भेगजस्तो दुर्गम ठाउँका बारेमा कसले, कहिले, के पो लेखेर राखेका होलान् र ? तर पछि थाहा पाएँ, माइकल एरिज (आङ साङ सुकीका श्रीमान्) जस्ता इतिहासकार, पुरातत्वविद्, मानवशास्त्री, तिब्बतशास्त्री, पर्वतारोही, वनस्पतिशास्त्री, डकुमेन्ट्री निर्माता तथा स्थानीय बासिन्दाले धेरै समय र मिहिनेत खर्च गरेर त्यस ठाउँका बारेमा धेरै कुरा लेखेका रहेछन्, त्यस ठाउँका दृश्य राखेका रहेछन् । उपल्लो थलो लेख्दा मलाई सहयोग गर्न खटाइएका यी मानिसको सहयोग मैले राम्रैसँग लिएको थिएँ ।

तथ्य जाँच र दृश्य वर्णन
मलाई सहयोग गर्न जति धेरै मानिस खटाइएका भए पनि, उनीहरूले जति सुकै मेहनत गरेर, जति धेरै जानकारी खोजेका भए पनि तिनका मात्रै जानकारीका भरमा म किताब लेख्न सक्दैनथेँ । कति विषय यस्ता हुन्छन्, जसका बारेमा धेरै कुरा लेखेर राखिएका हुँदैनन् ।

मान्ठा डराएको जुगमा यस्तै विषयवस्तु छन् । हामीले भोगेको लडाइँका बारेमा रिपोर्टिङ गर्न जाँदा मलाई लाग्यो– मभन्दा पछि यस विषयमा लेख्ने मानिसलाई सहयोग गर्न मलाई खटाइएको हो । आपूmभन्दा पहिलेका मानिसले लेख्न नभ्याएका वा नपाएका यस्ता विषयमा लेख्नका लागि मैले थरीथरीका, एकदमै धेरै मानिससँग कुराकानी गरेँ । यस क्रममा मैले उनीहरूका अनुभव/भोगाइ/दृष्टिकोण बुझेँ, आफूले लेख्न लागेका विषयका जानकारी खोजेँ र आफूले खोजिसकेका जानकारी रुजु गरेँ ।

मानिससँग कुराकानी गर्दा म आफ्नो कान, सम्झना र नोट टिपाइमा मात्र भर पर्दिनँ । यसो गर्दा नाम, तिथिमिति जस्ता कुरा तलमाथि पर्न सक्छन् । आफूले  कुराकानी गरेका मानिसले सुनाएका सुन्दर वाक्य जस्ताको तस्तै टिप्ने तागत मसँग छैन । त्यसैले, कहिलेकाहीँबाहेक अरू वेलामा कुराकानी गरेका सबै मानिसका आवाज रेकर्ड गरेको थिएँ । कुराकानीपछि जतिसुकै कामको चाप भए पनि सकेसम्म चाँडो त्यसलाई कागजमा उतार्थें । पछि फुर्सदमा उतार्छु भनेर पर्खिंदैनथेँ । फुर्सदमा त त्यसलाई कम्प्युटरमा  टाइप गर्थें ।

विषयअनुसार कहिलेकाहीँ त एउटा छोटो सामग्रीका लागि पनि मैले निकै धेरै कुराकानी गरेको हुँदो रहेछु । जस्तै, देखेको देशमा रहेको एउटा छोटो सामग्री ‘गाउँ मासी जंगल, जंगल मासी गाउँ’ लेख्नका लागि मैले जति मानिससँग कुराकानी गरेको थिएँ, त्यसको रेकर्ड कम्प्युटरमा उतार्दा १४ हजार ९९७ शब्द  भएका रहेछन् ।

जानकारी भेला गर्ने मेरो अर्काे औजार आँखा हो । छोटा अथवा लामा यात्रामा जाँदा अनौठा दृश्य, अनौठा घटना, मानिसका अनौठा हाउभाउ देखेँ भने म तिनलाई नोट गर्छु, फोटो खिच्न मिल्ने रहेछ भने फोटो खिच्छु । धेरै यात्रामा जाँदा भिडियो क्यामेरा साथमा हुनाले भिडियो पनि खिचेको छु ।
यसरी संकलन भएका जानकारीका आधारमा मैले मेरा तीनवटै किताबमा दृश्य वर्णन गरेको थिएँ ।

यसो गरेर म आफ्ना पाठकलाई आफूले  बताइरहेको ठाउँ, मान्छे अथवा घटनाको सामुन्ने उभ्याउन चाहन्थेँ । उनीहरूले अक्षर पढ्दा दृश्य देखिरहेको छु भन्ने भान पार्न कोसिस गर्थें । शारीरिक रूपले त त्यसो गर्न सम्भव हुँदैन, मनोवेगका दृष्टिले सकिन्छ कि भनेर । मेरो पहिलो पुस्तक उपल्लो थलोमा मैले यसो गर्ने निकै कोसिस गरेछु ।

समीक्षक हरि अधिकारीले त्यस किताबको समीक्षा गर्ने क्रममा लेख्नुभयो, ‘मैनालीका वर्णनमा तस्बिरमा हुनेजस्ता डिटेल, सबै कुरालाई रिट्ठो नबिराई जस्ताको तस्तै उल्लेख गर्ने शैली बलियो देखिन्छ । कलात्मक लेखनका हिसाबमा त्यो गुण होइन, दोष मानिन सक्छ । मैनालीले यसतर्फ विचार पु-याउने अपेक्षा गर्छु ।’ त्यसपछि अरू किताब लेख्दा जहिले पनि हरिजीको यो भनाइले खबरदारी गरिरहन्छ । त्यति हुँदा पनि उहाँले औँल्याएजस्तो दोष बाँकी रहेको हुन सक्ने डर  त लागिरहन्छ ।

खोज पत्रकारिता हतारको साहित्य होइन
मेरो पेसा पत्रकारिता हतारको साहित्य भनेर बदनाम भएको छ । समाचारका हकमा त यो कुरा सही हो, तर समाचारबाहेकका लामो आयु भएका अन्य सामग्रीका हकमा पत्रकारिता हतारको साहित्य होइन । मैले आफ्ना किताबमा रहेका सामग्री लेख्दा यो कुरालाई ख्याल गरेको छु । त्यसैले कतिवटा सामग्री तयार गर्न जानकारी खोज्न मैले हतार गरिनँ ।

आफ्नो रुचिको कुनै विषय फेला पर्नेबित्तिकै त्यसबारे लेखिहाल्न तम्सिइनँ । सम्बन्धित विषय उल्लेख भएका लिखत पढ्दा भेटेका जानकारी भेला गरेँ । अरू नै विषयका किताब पढ्दा त्यस विषयका जानकारी भेटेँ भने तिनलाई पनि टिप्दै गएँ । कसैले त्यस विषयमा बोले भने त्यसलाई समातेर राखेँ । यति जानकारी भए पाठकले ‘थू’ नभन्लान् भन्ने लागेपछि मात्र लेख्न बसेँ । ‘देखेको देश’को पहिलो सामग्री ‘एक करोड वर्षअघिको नेपाल’का लागि जानकारी खोज्न १५ वर्ष पर्खिएछु ।
मेरो किताब लेखनको आधा काम अर्थात् जानकारी संकलनको काम मैले यस्तै सजिलो गरी
सिध्याएको थिएँ ।

बाँकी रहेको आधा काम थाल्नुअघि अर्काे सानो काम गर्न बाँकी थियो— आफूले भेला गरेका जानकारी रुजु गर्ने । ती जानकारी पुराना हुनाले गलत भए कि ? यस विषयमा नयाँ जानकारी आइसके कि ? मैले जहाँबाट जानकारी लिएको थिएँ, त्यहीँ जानकारी गलत थिए कि ? मलाई बताउने मानिसले आफ्नो सम्झनाका भरमा पो बताएका थिए कि ? त्यसो हुनाले उनीहरूले दिएका जानकारी गलत पो परेका छन् कि ? अथवा जानकारी दिने मानिसले आफ्नो स्वार्थवश मलाई गलत पो बताएको थियो कि ? अथवा उसले आधा मात्र जानकारी दिएर मलाई भ्रममा पारेको थियो कि ?

यति गरिसकेर लेख्न बस्दा मैले मेरा मनमनै (लेखेरै त होइन) पाठकलाई यसो भनेको थिएँ– मैले भनेको आँखा चिम्लेर विश्वास गर्दा फरक पर्दैन किनभने म पत्रकार हुँ ।

गैरआख्यान लेख्न सजिलो
बाँकी रह्यो दोस्रो र अन्तिम काम– लेख्ने कलामा पोख्त हुने । गैरआख्यान लेखन सजिलो छ । किनभने जानकारी भेला गरिसक्दा गैरआख्यान लेखनको आधा काम सकिन्छ । जानकारी संकलन राम्रोसँग गरेको छ भने लेख्न बस्दा लेखाइ नराम्रो पारौँ भनेर लाख कोसिस गर्दा पनि सकिँदैन । रोचक जानकारी दिएको अलिबेरसम्म भद्दा जानकारी भद्दै तरिकाले दियो भने पनि पाठक बिच्किँदैन ।

सबैभन्दा सुन्दर वाक्य गठन गर्ने सर्जक को हो भनेर कसैले सोध्यो भने म नसोचीकन उत्तर दिन्छु— जसले एक वाक्य पनि लेखेको हुँदैन । ती भनेका मैले कुराकानी गरेका सामान्य मानिस हुन् । मेरा किताबमा धेरै ठाउँमा उनीहरूका चोटिला र सुन्दर भनाइ राखेको छु ।

जस्तै, ‘दुःख नाथे त कति पाइयो कति !’ ‘हाम्रो गल्ती होइन है । हामी त लाए अह्राएको गर्ने मान्छे । ओभरसियरले जताजता खन भन्यो, उतैउतै खन्यौँ । उसैले कुलोचाहिँ मुहानभन्दा
अग्लो बनाइदिएछ ।’

कहिलेकाहीँ पाठकले यस्ता वाक्य लेखेको भनी मेरो तारिफ गर्नुहुन्छ । यस्ता वेलामा म अलमलिन्छु : ती वाक्य मैले लेखेका हुन् भनौँ भने झुटो भइन्छ । मैले लेखेको होइन भनौँ भने आफ्नो बजार भाउ घट्ला भन्ने डर !

यस्ता वेलामा म लन्ठ्याङमन्ठ्याङ प्रतिक्रिया दिएर उम्कन्छु । अपराधबोधले ग्रस्त आपूmलाई यसरी सम्झाउँछु— मैले यी वाक्य फलानाले भनेका हुन् भनेर लेख्दालेख्दै पनि पाठकले त्यसको जस मलाई दिन्छन् भने त्यो मेरो दोष होइन ।

मैले भन्न खोजेका कुरा कसैले कविता, गीतमार्फत् भनिसकेको रहेछ भने पनि म त्यस्ता कुरा आफैँ लेख्ने कोसिस गर्दिनँ । त्यसका सर्जकलाई जस दिएर त्यही गीत वा कविताको अंश सार्ने गर्छु । यसो गर्दा सोच्छु— कवि, गीतकार मेरा सिर्जनशील सहायक हुन्, जसले मलाई लेख्ने काममा सघाउँछन् तर त्यसबापत मसँग पारिश्रमिक माग्न पाउँदैनन् ।

उखानटुक्का अहिले अलि निकै बदनाम भएको छ, तर कतिपय ठाउँमा उखानटुक्काले थोरैमा जति कुरा, जति प्रभावकारी ढंगले भन्न सक्छ त्यति प्रभावकारी ढंगले म लेख्न सक्दिनँ । यस्ता वेलामा पनि म आफैँ लेख्ने झन्झट गर्दिनँ । आफूले सुनेका, पढेका उखानटुक्का टाँसिदिने गर्छु ।

मेरा तीनवटै किताबका सम्पादक शरच्चन्द्र वस्ती भन्नुहुन्छ, साहित्यकारले लेखेको कुरा पाठकले बुझेन भने त्यो पाठकको कमजोरी हो । साहित्यकारका रचना बुझ्न सक्ने हुनका लागि उसले अहिलेको ठाउँबाट माथि उठ्नुपर्छ । तर, पत्रकारले लेखेको कुरा पाठकले बुझेन भने त्यो पत्रकारको कमजोरी हो । जुन पत्रकार पाठकले नबुझिने गरी लेख्छ, उसले आफूलाई अहिलेको ठाउँबाट माथि उठाएर आमपाठकले बुझ्ने खालको लेख्न सक्ने बनाउनुपर्छ । लेख्न बस्दा मेरो एउटै ध्येय हुन्छ– आमपाठकले बुझ्न सक्ने सरल बनाउनु र पाठकको मन छुने  गरी लेख्नु ।

मौलिक शैली र चुस्त सम्पादन
म आख्यान लेखकले अपनाउने विभिन्न शैलीको सिको गर्न कोसिस गर्छु । पाठकले नचिताएको मोड ल्याइदिएर अथवा उसले नचिताएको जानकारी दिएर पनि उसलाई आफ्नो पाठमा बाँधिराख्न कोसिस गर्छु । जस्तै, मेरो पछिल्लो किताब देखेको देशमा घोडाले पारेको अन्डा र घोडाको सिङको प्रसंग राखेको छु ।

कतैकतै कल्पना पनि गरेको छु । जस्तै, आफू जन्मनुभन्दा ५४ वर्षपहिले मरिसकेका मान्छेसँग भेटेर कुराकानी गरेको कल्पना गरेको छु । तर, यस्ता ठाउँमा यो मेरो कल्पना हो भनेर खुलाएको छु ।
हिन्दी सिरियल हेरेर तिनमा भएका सस्ता शब्द लेखेर अरूभन्दा फरक लेखक देखिने रहर गर्दिनँ । पश्चिमा विश्वविद्यालयमा आविष्कार गरिएका अस्पष्ट शब्द र शब्दावलीको भद्दा नेपाली अनुवाद लेखेर ‘मैले यो शब्द/शब्दावली पनि जानेको छु, तैँले जानेको छस् ?’ भनेर पाठकलाई दम्भ देखाउन नपरोस् भन्ने ठान्छु ।

लेखन भनेको पुनर्लेखन हो रे ! यस कुरामा म विश्वास गर्छु । त्यसैले, आपूmलाई चित्त नबुझेसम्म फेरि लेख्न खोज्छु । कहिलेकाहीँ झर्काे लाग्छ र चित्त  नबुझ्दा –नबुझ्दै पनि छाडिदिन्छु ।  मेरो लेखाइ राम्रा सम्पादकले सम्पादन नगर्दा मेरा कमजोरी बजारमा छताछुल्ल हुन्छन्, पाठकले अपरिष्कृत लेखाइ पढ्ने बोझ खप्नुपर्छ भन्ने लाग्छ । त्यसैले, कुशल सम्पादकले सम्पादन नगरेसम्म मेरा किताब प्रेसमा जाँदैनन् ।

लेखिसक्दा मलाई लाग्छ— म पाठकलाई सहयोग गर्न यस ग्रहमा खटाइएको मानिस हुँ । म आफूलाई खटाइएको काम गर्न मात्र सक्छु । पाठकले मेरो जागिर थामिदेलान् वा नदेलान् (मैले लेखेको पढिदेलान्/नदेलान्) यो मेरा हातमा छैन । जुन कुरा आफूले गर्न सकिँदैन, त्यसका बारेमा धेरै चिन्ता लिन्नँ ।

२०७५ असार २३ गते नयाँपत्रिका दैनिकमा प्रकाशित

मानसरोवर यात्रा श्रृङ्खलाको अडियो लिंक

मानसरोवर यात्रा १

 

 

मानसरोवर यात्रा २

 

मानसरोवर यात्रा ३

 

मानसरोवर यात्रा ४

मानसरोवर यात्रा ५

मानसरोवर यात्रा ६

मानसरोवर यात्रा ७

मानसरोवर यात्रा ८

 

मानसरोवर यात्रा ९

 

खट्कने कुरा

मोहन मैनाली

कान्तिपुर २५ वर्षमा लाग्नु भनेको कान्तिपुरको पाठकका रूपमा म पनि २५ वर्षमा लाग्नु हो । यस लेखमा कान्तिपुरको नियमित भन्न मिल्ने पाठकका हैसियतमा मलाई खट्किएका केही गल्ती र कान्तिपुरसँग मेरा चाहना लेख्ने कोसिस गरेको छु ।

२०६८ साल वैशाख ७ गते कान्तिपुर दैनिकमा पहिलो पेजमा ‘धन्य अनुजा : जसले भेट्टिएको ९१ लाख रुपैयाँ फिर्ता दिइन्’ शीर्षकमा एउटा समाचार छापियो । धरान बस्ने अनुजा बानियाँले आफूले फेला पारेको ९१ लाख रुपैयाँ र हीराको हार त्यसका धनीलाई फिर्ता गरिन् भनी त्यस समाचारमा भनिएको थियो ।

एक/दुई दिनसम्म यो समाचार र अनुजाको प्रशंसा भयो । त्यसपछि त्यस समाचारमा लेखिएका कुरामा शंका गर्न थालियो । वैशाख १० गते कान्तिपुरमै अनुजाबारे अन्योल भएको भनी अर्काे समाचार छापियो । वैशाख १२ गते कान्तिपुरले उक्त समाचार झूटा भएको भनी क्षमा माग्यो ।
यस समाचारलाई लिएर धेरैले कान्तिपुरको कडा आलोचना गरे । मेरा विचारमा यस समाचारमा गल्ती भएको थियो तर त्यो कडा आलोचनाको भागी भने थिएन । मैले यसो भन्नुका केही कारण छन् । पहिलो, यस रिपोर्टिङमार्फत रिपोर्टर तथा सम्पादकले पाठकलाई जानकारी दिनुबाहेक आफ्नो कुनै पनि खालको स्वार्थ पूरा गर्ने उद्देश्य राखेका थिएनन् । दोस्रो, यसले अनुजालाई केही दिनका लागि प्रशंसा अर्थात् अनुचित लाभ त जुटाइदिएको थियो तर यसले अरू कसैलाई अनुचित हानि/क्षति पुर्‍याएको थिएन । तेस्रो, म रिपोर्टर/सम्पादक भएको भए पनि यो समाचार लेख्थो होला/छाप्थो होला । यो समाचार छापिएको भोलिपल्ट धेरै पत्रिकाका सम्पादक यो समाचार आफ्नो पत्रिकामा छाप्न नपाएकामा चुकचुकाएका थिए ।
यसअघि २०६० कात्तिकमा ‘पाँच डलरबाट खर्बपति नेपाली’ शीर्षकमा रसेन्द्र भट्टराईसम्बन्धी एउटा सामग्री कान्तिपुरमा छापियो । यो सामग्री पनि पूर्ण रूपमा रसेन्द्रले गरेको दाबीमा आधारित थियो जुन चाँडै झूटा ठहरियो । यस मामलामा पनि कान्तिपुर आफूले पाएको जानकारी रुजु गर्ने मामलामा चुक्यो ।
म कान्तिपुरजस्ता पत्रिकामा अनुजा र रसेन्द्रबारे छापिएजस्ता सामग्री नदोहोरिऊन् भन्ने चाहन्छु । कसैलाई अनुचित लाभ/हानि पुर्‍याउने झूटा समाचारचाहिँ छापिनु हँुदै हुँदैन भन्ने पक्षमा म छु । यस्तो समाचार कस्तो होला ? यस्तो एउटा समाचार २०५१ साल कात्तिक २८ गते कान्तिपुर दैनिकको पहिलो पेजमा छापिएको थियो । ‘काभ्रेका उम्मेदवारको हत्या भएको आशंका’ शीर्षकको त्यस समाचारको सार थियो— काभ्रेमा नेकपा (एमाले) र संयुक्त जनमोर्चा नेपालका कार्यकर्ताबीच भिडन्त भएको र त्यसमा जनमोर्चाका उम्मेदवार कमानसिंह लामाको हत्या भएको आशंका गरिएको छ ।
समाचार पढ्दै जाँदा थाहा भयो— त्यो आशंका जाँच्न कान्तिपुर प्रतिनिधिले तीन जनासँग कुराकानी गर्ने प्रयास गरेका थिए, जसमध्ये एकजनासँग सम्पर्कै भएन । कान्तिपुर प्रतिनिधिले कुराकानी गरेका जनमोर्चा नेपालका नेता लीलामणि पोखरेलले लामा मारिएको हल्ला फैलिएको कुराको मात्र पुष्टि गरेका थिए । काभ्रेका प्रमुख जिल्ला अधिकारीले एमाले र जनमोर्चाका कार्यकर्ताबीच भएको भनिएको ‘झडप’ को समाचारलाई नै अपुष्ट भनेका थिए । हत्याबारे उनले केही बोलेका थिएनन् ।
शीर्षक र पेटबोली दुवैमा ‘आशंका’ मात्र गरिएको हल्ला समाचार नबन्नुपर्ने हो । तर सम्पादकले यसलाई महत्त्वपूर्ण ठाने र पाठकले पढ्न छुटाउलान् कि भनेर बक्समा राखिदिए ।
त्यस्ता समाचार त्यसरी किन छापिन्छन् भन्ने व्याख्या पत्रकारिताका किताबमा पाइँदैन । त्यो थाहा पाउन चुनावका दाउपेच बुझ्नुपर्छ ।
त्यो समाचार छापिएको भोलिपल्ट नेपालमा आमनिर्वाचन हुँदै थियो र त्यस निर्वाचनमा चितवन जिल्लामा एमाले र जनमोर्चाबीच तालमेल भएको थियो । मौन अवधि सुरु भएकाले एमाले र जनमोर्चाले सभासम्मेलन गरेर त्यो समाचार झूटा हो भन्नै पाउँदैनथे । अहिले जसरी छिनछिनमा समाचार भन्ने रेडियो खुलेकै थिएनन् । अनलाइनको कल्पना पनि थिएन । त्यसैले, यो झूटो समाचारबाट बिच्किएर चितवनका जनमोर्चाका कार्यकर्ता तथा समर्थकले एमालेलाई भोट नदिन सक्थे । त्यसको फाइदा नेपाली कांग्रेसलाई पुग्न सक्थ्यो ।
समाचार छापिएको भोलिपल्ट ‘कमानसिंह लामा सकुशल’ शीर्षकमा कान्तिपुरमै समाचार छापियो । उक्त समाचारमा गृह मन्त्रालयका प्रवक्ताले अघिल्लो दिनको समाचारलाई ‘आधारहीन’ बताएका थिए । एमालेका माधवकुमार नेपाल र प्रदीप नेपालले वक्तव्य प्रकाशित गरी समाचारलाई ‘गलत’ र ‘झूटो’ भएको बताए । जनमोर्चाकी नेता शशी श्रेष्ठले त्यो समाचार छापिएपछि लामा सकुशल रहेको बताइन् । अघिल्लो दिनको समाचारमा उल्लेख भएको झडप एमाले र जनमोर्चाबीच नभई राप्रपा र जनमोर्चाबीच भएको भनी ‘एमालेसँग सम्बद्ध एक सूत्र’ लाई उद्धृत गरिएको थियो ।
यो समाचार अघिल्लो दिन यसै विषयसँग सम्बन्धित समाचार छापिएकै ठाउँमा, अघिल्लो दिनको भन्दा दोब्बर कोलममा बक्समै दिइएको थियो । तर यसो गर्दा अघिल्लो दिनको समाचारले चितवनका मतदातामा जेजस्तो अनुचित प्रभाव पारेको थियो, त्यो सच्चिँदैनथ्यो किनभने त्यतिबेला कान्तिपुर काठमाडौंबाट मात्र छापिन्थ्यो । काठमाडौंमा छापिएको कान्तिपुर चितवनका मतदातासम्म पुग्नुभन्दा अगावै, उनीहरूले अघिल्लो दिनको समाचार झूटा भएको खबर पढ्नुभन्दा पहिल्यै मतदान सुरु भइसकेको हुन्थ्यो ।
यसअघि २०५० साल माघमा काठमाडौंको क्षेत्र नम्बर १ मा भएको उपनिर्वाचनमा पनि नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईले जित्छन् भनी कान्तिपुरमा एकपछि अर्काे गरेर समाचार विश्लेषण, मत सर्वेक्षण, मत सर्वेक्षणको विश्लेषण छापिएका थिए । भट्टराईलाई हराउन प्रतिद्वन्द्वी एमाले मात्र होइन नेपाली कांग्रेस र नेपाली कांग्रेसका संसदीय दलका नेता तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासमेत लागेका हुनाले भट्टराईको अवस्था कमजोर हुन सक्छ भन्ने यथार्थ ती सामग्रीमा लुकाइएको थियो (त्यस निर्वाचनमा भट्टराई हारे) ।
यस्ता समाचार कसैलाई अनुचित लाभ/हानि पुर्‍याउने खालका हुन् । यस्ता समाचार कुनै पनि समाचारपत्रमा, कुनै पनि अवस्थामा छापिनु हुँदैन ।कुनै समाचार छाप्ने वा नछाप्ने निर्णय सम्पादकीय विवेकको विषय हुनुपर्छ । प्रकाशन गृहको आर्थिक विषयले सम्पादकीय स्वतन्त्रतामा दखल पार्नु हुँदैन । तर २०६७ सालको मिस नेपालसम्बन्धी समाचार छाप्ने वा नछाप्ने भन्ने निर्णयमा कान्तिपुरको सम्पादकीय नेतृत्वमाथि विज्ञापन हाबी भएजस्तो देखिन्छ । अरू वर्ष कान्तिपुरमा सामान्यत: मिस नेपालसम्बन्धी एकपछि अर्का समाचार छापिन्थे । तर त्यस वर्ष कान्तिपुरमा मिस नेपालसम्बन्धी समाचार छापिएन । त्यसै वर्ष कान्तिपुरमा मिस नेपालका प्रायोजकको विज्ञापन पनि कान्तिपुर छापिएको थिएन ।मिस नेपालका प्रायोजकको विज्ञापन र समाचार नछापिनु संयोग मात्र नहुनुपर्छ । यस मामलामा सम्पादकीय स्वतन्त्रतालाई विज्ञापनले कुण्ठित गरेजस्तो लाग्छ ।
यस मामलालाई म सैद्धान्तिक रूपमा ठीक ठान्दिनँ तर पनि यसले धेरै बिगार गर्‍यो भन्ने लाग्दैन किनभने मिस नेपालको समाचार पाठकले पढ्न नपाउँदा उत्रो बिगार भयो/हुन्छ जस्तो लाग्दैन । यस्ता खालका समाचारले केही पाठकको खसखस त मेट्छन् तर ती पाठकलाई नभई नहुने होइनन् । विज्ञापनले सम्पादकीय स्वतन्त्रता कुण्ठित गरेर पाठकले थाहा नपाई नहुने जानकारी पाएनन् वा तोडमोड भएका जानकारी पढ्नुपर्‍यो भने चाहिँ त्यो अति गम्भीर कुरा हो ।
कान्तिपुरका केही लेख रचनामा छापिने केही गल्ती पाठकलाई खड्कने खालका छन् । यसका केही उदाहरण :
पदमपुर नारायणगढभन्दा पश्चिममा पर्छ ।
नेपालमा सरकारी बजेट प्रकाशन गर्ने काम २०१३ सालदेखि भएको हो ।
आधा शताब्दी पहिलेसम्म पनि महिलाले भोट हाल्ने अधिकार पाएका थिएनन् ।
पदमपुर नारायणगढभन्दा पूर्वमा पर्छ । नेपालमा बजेट २००८ सालमै प्रकाशन हुन थालेको हो । माथिको सबैभन्दा पछिल्लो उदाहरणमा कुन ठाउँको कुरा गरिएको हो भनी यकिन गरिएको छैन । तर लेख नेपालका सन्दर्भमा भएकाले नेपालकै कुरा हो भन्ने अर्थ लाग्छ, जुन गलत हो ।
यस्ता गल्ती हुन नदिने मूल दायित्व लेखकको हो । तर यसो भनेर आफ्ना पत्रिकामा छापिएका गल्तीबाट कान्तिपुर (र, अरू कुनै पनि पत्रिका) उम्कन पाउँदैन । अलिकति सम्पादकीय सतर्कता अपनाउने हो भने यस्ता गल्ती कम हुन्छन्जस्तो लाग्छ ।
मैले र अरू केही लेखकले गरेका गल्तीका आधारमा यसो भनेको हुँ । माथिको पहिलो उदाहरण मैले आफ्नै लेखबाट लिएको हुँ । सो लेख लेख्न चाहिने जानकारी संकलन गर्दा म नारायणगढमा बास बसेर त्यहाँबाट पूर्व लागरेर पदमपुर पुगेको थिएँ । त्यसैले मैले त्यसो नलेख्नुपथ्र्याे । कुनै पनि कुरा लेखिसकेपछि ‘मैले के लेख्न खोजेको थिएँ र के लेखेँ’ भनी एक पटक हेर्नुपर्छ भनेर मलाई अरूले सिकाएका थिए । मैले पनि धेरै जनालाई यो कुरा भनेको छु । यसका आधारमा पनि मैले त्यसो नलेख्नु पथ्र्याे । तर पनि मैले एक थोक लेख्न खोज्दा अर्काे थोक लेख्न पुगेँ ।
दोस्रो गल्ती त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र पढाउने व्यक्तिले लेखेका हुन् । मलाई के विश्वास छ भने, ती लेखकलाई नेपालमा सरकारी बजेट कहिलेदेखि सार्वजनिक हुन थालेको हो भनेर सोध्यो भने २००८ साल भन्छन् । तर उनले नेपालमा पञ्चवर्षीय योजना सुरु भएको साललाई बजेट सार्वजनिक हुन थालेको साल भनी गल्ती गरे ।
लेखकले आफ्ना लेखमा राखेका तथ्य जाँच गर्न सम्पादकीय टोली— त्यसमाथि हाम्रो देशको जस्तो सानो सम्पादकीय टोलीलाई सम्भव हुँदैन । यसका लागि विदेशमा तथ्य जाँचकी राखिएका हुन्छन् । नेपालका सञ्चारमाध्यममा तत्कालै यस्तो दरबन्दी सिर्जना होला भन्ने आशा मलाई छैन । अहिलेका लागि लेखकले उपयोग गरेका तथ्यमा चिह्न लगाएर यी सबै तथ्य रुजु गरिएका हुन् भनी लेखकलाई नै प्रश्न सोध्ने व्यवस्था त गर्न सक्नैपर्छ । यसो गरेका खण्डमा लेखक अझ बढी सचेत हुन्छ ।
यसो नगरेका खण्डमा तथ्य पाउनुपर्ने ठाउँमा पाठकले हावादारी गफ पाउँछन् । यसको एउटा उदाहरण, २०७४ साल असोज १२ गते कान्तिपुरमा छ । नयराज पन्तका बारेमा त्यस दिन प्रकाशित एउटा लेखमा भनिएको छ, ‘‘धेरै विद्वान्ले भनेका छन्— ‘नेपालमा इतिहासको क्षेत्रमा यदि कसैलाई विश्वास गर्नुपर्छ भने इतिहास संशोधन मण्डललाई गर्नुपर्छ ।… सिल्भा लेवी, लियो ई रोज, पेट्रिकले यस्तै धारणा प्रस्तुत गरेका छन् ।”
रोजले त त्यस्तो धारणा प्रस्तुत गरे होलान् तर पेट्रिक (कर्कपेट्रिक भन्न खोजेका होलान् लेखकले †) ले यसो नगर्नु पर्ने † किनभने कर्कपेट्रिक पन्त जन्मनुभन्दा १०१ वर्ष पहिले नै बितिसकेका थिए । लेवी बाँचेका बेलामा पन्तले त्यो काम थालेकै थिएनन् जुन कामका लागि लेवीले उनको प्रशंसा गरे भनिएको छ ।
इतिहासका प्रोफेसर र डाक्टरले तथ्य जाँच गरेर इतिहास संशोधन गर्ने मानिसबारे लेखिएको लेखमा यस्ता कोरा कल्पना हुँदा पाठकलाई नमज्जा लाग्छ । सम्पादकलाई पनि नरमाइलो लागेको हुनुपर्छ ।
संसारभरका पत्रिकाका सम्पादकले लेखक र स्तम्भकारलाई आफ्ना रिपोर्टरलाई भन्दा अलि बढी विश्वास गरेर पुलपुल्याउने गरेका छन् तर नेपालमा हामी लेखक भइखाएकाहरू अलि बढी नै पुलपुलिएका छौँ । हाम्रो यो पुलपुल घटाएर जायज मात्रामा झार्न सम्पादकले लेखकलाई सतर्क गराउनै पर्ने भएको छ । अर्थात्, कुनै लेख छाप्न पठाउनुभन्दा पहिले कान्तिपुरका सम्पादकले पाठकलाई मनमनै यस्तो भन्न सक्नुपर्छ— यहाँ लेखिएका कुरा आँखा चिम्लेर पत्याउनुस् किनभने यो कान्तिपुरमा छापिएको हो ।
यति गर्दा पनि गल्ती छापिँदै नछापिने हुँदैन । माथि भनिएझैं लाख कोसिस गर्दा पनि गल्ती छापियो भने त्यो कुरा थाहा पाउनेबित्तिकै सच्याउने परिपाटि अखबारमा हुनैपर्ने हो जुन कान्तिपुरलगायतका पत्रिकामा छैन । पाठकका रूपमा म कान्तिपुरमा आक्कलझुक्कल भूलसुधार स्तम्भ पढ्न चाहन्छु । यसो गर्दा कान्तिपुरका लागि सामग्री तयार गर्ने मानिस बढी सतर्क हुने र पाठकले कान्तिपुरका सामग्रीलाई अझ बढी विश्वास गर्ने वातावरण तयार हुन्छ । इन्टरनेट संस्करणमा सुरुमा के गल्ती भएको थियो भन्ने प्रस्ट देखिने गरी भूलसुधार गर्न प्राविधिक रूपले सजिलै छ ।
मानिसको जीवनमा निश्चित उमेरमा निश्चित काम गरिसक्ने चलन छ । पत्रिकाको जीवनमा पनि यस्तै हुन्छ/हुनुपर्छ कि ? त्यसो हो भने कान्तिपुरले अहिलेसम्म नगरेको एउटा काम गर्ने बेला भइसकेको हुनुपर्छ । त्यो हो— पाठकको सम्पादक (आन्तरिक अम्बुड्सपर्सन) नियुक्त गर्ने । यस्तो सम्पादकले आफ्नै प्रकाशनको समीक्षा गर्ने र पाठकसँग प्रकाशनको सम्बन्ध मजबुत बनाउने काम गर्छ । यस्तो सम्पादकको व्यवस्थाले प्रकाशित सामग्रीको शुद्धता बढाउन अनि तथ्य रुजु गर्ने चलन कठोरतापूर्वक पालना गराउन सहयोग गर्छ ।
मैले माथि भनेका सबै कामले कान्तिपुरको गुणस्तर अझ बढाउनेछन्, कान्तिपुरप्रति मजस्ता पाठकको विश्वास अझ बढाउनेछन् । आफ्ना पाठकले आफूलाई बढी विश्वास गर्ने वातावरण बनाउनु कान्तिपुर र हामी पाठक दुवैथरीका लागि फलदायी हुन सक्छ।
स्वतन्त्र लेखक मैनाली साउथ एसिया चेकका सम्पादक हुन्।
२०७४ साल फागुन ७ गते कान्तिपुर दैनिकमा प्रकाशित

Previous Older Entries